मंसीर १८ दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ढुंगा लागेर चार नेपाली घाईते भएका छन् ।
महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी रुपमा गरेको बाँध निर्माणको बिरोधमा उत्रिएका नेपालीमाथि भारतीय समुहले ढुंगाले आक्रमण गरेको थियो । त्यसको प्रतिकार गर्दै नेपालीहरुले पनि ढुंगै हानेर जवाफ फर्काएका थिए ।
अहिले अवस्था बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेय सीमा क्षेत्रमा जानुभएकाे प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।
भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।