दिपक चौरसिया वीरगञ्ज १२ जेठ । वीरगञ्जस्थित नारायणी अस्पतालले ३० वर्ष वा सोभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क नसर्ने रोग (एनसीडी) स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको छ।
अस्पतालले स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै समयमै रोग पहिचान र उपचारको पहुँच बढाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ।
अस्पतालका अनुसार २०८३ साल जेठ १२ गतेदेखि असार १२ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा विभिन्न नसर्ने रोगहरूको निःशुल्क परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिने छ।
कार्यक्रम अन्तर्गत मधुमेह (सुगर) परीक्षण, उच्च रक्तचाप परीक्षण, मृगौला सम्बन्धी रोगको स्क्रिनिङ, बडी मास इन्डेक्स (BMI) मापन तथा विशेषज्ञ स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
नसर्ने रोगहरू पछिल्लो समय बढ्दो स्वास्थ्य चुनौतीका रूपमा देखिँदै आएका बेला समयमै परीक्षण र उपचारले गम्भीर जटिलता रोक्न सकिने भएकाले अस्पतालले सबै लक्षित नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
अस्पतालले “समयमै परीक्षण गरौँ, नसर्ने रोगबाट बचौँ” भन्ने सन्देशसहित स्वास्थ्यप्रति सजग बन्न र नियमित परीक्षण गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ। कार्यक्रम अवधिभर नारायणी अस्पतालमा पुगेर निःशुल्क सेवा लिन सकिने जनाइएको छ।
आजबाट सुरु भएको सो निःशुल्क परीक्षणमा सर्वसाधारण अस्पतालमा चेकजाँच गराउन आउने बिरामीहरू उसका कुरुवाहरू र अस्पतालका विभिन्न वार्ड नर्सहरु विभिन्न विभागका डाक्टरहरू कर्मचारीहरूले गराएका थिए ।
सोही नारायणी अस्पतालमा भएको निःशुल्क परीक्षणमा नारायणी अस्पतालका नर्स विभागका प्रमुख श्रुति शाह प्रशासन प्रमुख सुशील यादव , सुनिल रोौनियार स्टोर प्रमुख कमले सहनी , हरी किशोर गिरी लगायतको सहभागिता रहेको थियो।




