वीरगञ्ज, असार २७ । मधेश प्रदेशकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित श्री गहवा माई मन्दिरमा आयोजना हुन लागेको चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आगामी असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने दुईदिने धार्मिक महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गर्दै श्रद्धालु तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको हो।
पत्रकार सम्मेलनमा समितिका पदाधिकारीहरूले गहवा माईको रथ यात्रा केवल धार्मिक कार्यक्रम मात्र नभई वीरगञ्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित हुँदै गएको बताए। प्रत्येक वर्ष श्रद्धालुको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको उल्लेख गर्दै यस वर्ष लाखौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको समितिको भनाइ छ।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर प्राङ्गणबाट वैदिक विधिअनुसार विशेष पूजा–अर्चना सम्पन्न गरी विशाल रथ यात्राको शुभारम्भ गरिनेछ। बाजागाजा, भजन–कीर्तन तथा भक्तजनहरूको सहभागितामा नगर परिक्रमा गर्ने रथ यात्रालाई यस वर्ष अझ भव्य र आकर्षक बनाउन विशेष तयारी गरिएको छ।
यस वर्षको रथ यात्राको मुख्य आकर्षणका रूपमा यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था मिलाइएको समितिले जनाएको छ। पुष्पवर्षाले धार्मिक वातावरणलाई थप भव्य र श्रद्धामय बनाउने विश्वास आयोजकको छ। साथै यात्रा अवधिभर सुरक्षा, स्वास्थ्य सेवा, स्वयंसेवक परिचालन, ट्राफिक व्यवस्थापन तथा अन्य आवश्यक पूर्वाधारको तयारी पनि पूरा गरिएको जानकारी दिइएको छ।
रथ यात्रा सम्पन्न भएपछि सोही दिन साँझ मन्दिर परिसरमा चर्चित राष्ट्रिय तथा स्थानीय भजन गायक–गायिकाहरूको सहभागितामा भव्य भजन सन्ध्या आयोजना गरिनेछ। भजन सन्ध्यामा हजारौँ श्रद्धालुको उपस्थिति रहने अपेक्षा गरिएको छ।
त्यसैगरी श्रावण १ गते बिहान ६ बजेदेखि विशेष ५६ भोग पूजा गरिनेछ। हिन्दू धार्मिक परम्पराअनुसार देवीलाई ५६ प्रकारका परिकार अर्पण गरी विशेष पूजा गरिने कार्यक्रम रहेको समितिले जनाएको छ। त्यसपछि दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा सञ्चालन हुनेछ, जहाँ हजारौँ भक्तजनलाई प्रसाद वितरण गरिनेछ।
पत्रकार सम्मेलनमा समितिले रथ यात्राको क्रममा श्रद्धालुको सहज आवागमन र सुरक्षालाई प्राथमिकतामा राख्दै वीरगञ्जको मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा तोडफोडको काम रथ यात्रा अवधिभर स्थगित गर्न सम्बन्धित सडक डिभिजन कार्यालयलाई औपचारिक रूपमा पत्राचार गरिसकिएको जानकारी दिएको छ। निर्माण कार्यका कारण यात्रामा अवरोध नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग समन्वय गरिएको समितिको भनाइ छ।
समितिले वीरगञ्ज महानगर क्षेत्रका सम्पूर्ण सामाजिक, धार्मिक, जातीय तथा व्यावसायिक सङ्घ–संस्था, उद्योगी, व्यवसायी, बुद्धिजीवी, युवा तथा नागरिक समाजलाई रथ यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। रथ यात्रा मार्गमा पर्ने घर, पसल तथा विभिन्न प्रतिष्ठानहरूमा कलश स्थापना, तोरणद्वार सजावट, दीप प्रज्वलन, पुष्प सजावट तथा श्रद्धालुका लागि खानेपानी, सर्वत र अन्य सेवामूलक व्यवस्था मिलाएर धार्मिक महोत्सवलाई सफल बनाउन सहयोग गर्न पनि अनुरोध गरिएको छ।
पत्रकार सम्मेलनमा रथ यात्रा–२०८३ की महिला संयोजक विभा साह, संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
आयोजक समितिले गहवा माईको रथ यात्रा धार्मिक आस्थासँगै सामाजिक एकता, सांस्कृतिक संरक्षण र सद्भावको सशक्त माध्यम बनेको उल्लेख गर्दै सम्पूर्ण श्रद्धालु तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई भव्य, सभ्य र सफल बनाउन सहयोग गर्न हार्दिक आग्रह गरेको छ।




