पर्सा ट्राफिक प्रहरीले सवारी साधनमा जडान गरिएका कालो सिसा र कालो स्टिकर हटाउ

दिपक चौरसिया
वीरगञ्ज, असार १९। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको छ।

Advertisement

सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण तथा कानुनी व्यवस्थालाई प्रभावकारी बनाउन यस्तो अभियान सञ्चालन गरिएको ट्राफिक कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले जारी गरेको सूचना अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले सम्बन्धित निकायको पूर्वस्वीकृति बिना कुनै पनि सवारी साधनको रङ, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।

सोही कानुनी प्रावधानविपरीत सवारी साधनमा कालो सिसा वा कालो स्टिकर जडान गर्ने कार्य गैरकानुनी भएकाले त्यस्ता सामग्री हटाउने अभियान सञ्चालन गरिएको हो।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार सवारी साधनमा कालो सिसा वा स्टिकर प्रयोग गर्दा बाहिरबाट भित्रको अवस्था स्पष्ट रूपमा देख्न नसकिने भएकाले सुरक्षा निगरानीमा कठिनाइ हुने, अपराध नियन्त्रण तथा अनुसन्धान प्रभावित हुने र आपराधिक गतिविधि लुकाउन समेत सहज हुने जोखिम रहन्छ। यसले सार्वजनिक सुरक्षा र शान्ति व्यवस्थामा समेत चुनौती सिर्जना गर्न सक्ने भएकाले यस्तो कार्यमा कडाइ गरिएको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले कानुनविपरीत कालो सिसा तथा कालो स्टिकर प्रयोग नगर्न तथा पहिले नै जडान गरिएका भए तत्काल हटाउन सम्पूर्ण सवारीधनी तथा चालकहरूलाई आग्रह गरेको छ। साथै, कानुनी व्यवस्था उल्लङ्घन गर्ने सवारी साधनमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।

ट्राफिक प्रहरीले सवारी साधनलाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न, सडक सुरक्षामा सहयोग पुर्‍याउन तथा सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कानुनको पूर्ण पालना गर्न आम नागरिकसँग अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box