पत्रकार आचारसंहिता पालन गर्दै कलम चलाए जनविश्वास बढ्छ : वरिष्ठ पत्रकार धर्मेन्द्र झा

दिपक चौरसिया
वीरगञ्ज ४ असार । मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम” बिहीबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।

Advertisement

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्य तथा मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारितालाई थप जिम्मेवार, मर्यादित र विश्वसनीय बनाउन पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ नेपालको केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल तथा विश्व पत्रकार महासंघका दीपेन्द्र चौहानले पत्रकारिताको वर्तमान अवस्था, चुनौती तथा आचारसंहिताको पालनाको आवश्यकताबारे आफ्नो धारणा राखेका थिए।

वक्ताहरूले पत्रकारले आचारसंहिताको दायराभित्र रहेर निष्पक्ष र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सके मात्र सञ्चारमाध्यमप्रति जनताको विश्वास अझ मजबुत हुने बताए। उनीहरूले पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यमको तीव्र विस्तारसँगै गलत सूचना तथा भ्रामक सामग्रीको चुनौती बढेकाले जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेको उल्लेख गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले सहभागी सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहितासम्बन्धी प्रशिक्षण दिएका थिए। उनले पत्रकारिताका आधारभूत मूल्य–मान्यता, सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता, सामाजिक दायित्व तथा डिजिटल युगमा पत्रकारिताले सामना गरिरहेका चुनौतीबारे विस्तृत जानकारी गराएका थिए।

प्रशिक्षणका क्रममा समाचार सम्प्रेषणमा तथ्यपरकता कायम गर्ने, गलत सूचना तथा भ्रामक सामग्रीको नियन्त्रण गर्ने, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले पत्रकारिताको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

मिडिया काउन्सिल जनकपुरधामले प्रदेशभर सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई थप मर्यादित, उत्तरदायी र विश्वसनीय बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box