दिपक चौरसिया
बिरगंज असार २४ — नेपाल सरकारले निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई काठमाडौं उपत्यकाबाहिर पनि विस्तार गरेको छ। यससँगै प्रदेशस्तरमै सहुलियतसहित स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था सुरु भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको निजामती कर्मचारी अस्पतालले जारी गरेको सूचनाअनुसार सरकारको नीतिअनुसार २०८३ असार २५ गते सोमबारदेखि काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालबाट प्रदान हुँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल, चितवन र नारायणी अस्पताल, वीरगञ्ज बाट उपलब्ध हुने भएको हो।
अस्पतालका अनुसार यो व्यवस्था निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय, सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लागू गरिएको हो। यसबाट काठमाडौं पुग्नुपर्ने बाध्यता कम भई सम्बन्धित प्रदेशमै सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार सहुलियतसहितको उपचार सेवा प्राप्त गर्न इच्छुक निजामती कर्मचारी तथा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ। परिचयपत्रका आधारमा मात्रै तोकिएको सहुलियत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यक तयारी पूरा भएका अन्य सेवा प्रदायक अस्पतालहरूलाई पनि क्रमशः सूचीकृत गर्दै देशभरका प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ। तयारी पूरा भएपछि निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा सबै प्रदेशमा उपलब्ध गराइने योजना रहेको सूचनामा उल्लेख छ।
यस नयाँ व्यवस्थाबाट विशेषगरी काठमाडौं उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले आफ्नै प्रदेशमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास सरकारको रहेको छ। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने सरकारको प्रयासअन्तर्गत यो व्यवस्था महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




