नारायणी अस्पतालमा कार्यरत कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर

दिपक चौरसिया
वीरगञ्ज १५ असार । नारायणी अस्पताल, वीरगञ्जले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय बनाउन विभिन्न विभागमा कार्यरत कर्मचारीहरूको सरुवा तथा कार्यक्षेत्र हेरफेर गरेको छ।

Advertisement

अस्पताल प्रशासनद्वारा जारी सूचनाअनुसार निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्ररञ्जन शाह को निर्णय बमोजिम आगामी असार १७ गतेदेखि लागू हुने गरी विभिन्न वार्ड तथा विभागमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो। अस्पतालले सम्बन्धित सबै कर्मचारीलाई तोकिएको कार्यस्थलमा समयमै हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ।

जारी आदेशअनुसार सर्जिकल वार्ड, आइसोलेसन वार्ड, मेडिकल वार्ड, गायने वार्ड, इमर्जेन्सी सेवा, पेडियाट्रिक ओपिडी तथा कान, नाक, घाँटी (ईएनटी) ओपिडी लगायतका विभागहरूमा कर्मचारीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको छ। सरुवा तथा जिम्मेवारी हेरफेर गरिएका कर्मचारीहरूमा स्टाफ नर्स, अहेव तथा वरिष्ठ सहायकस्तरका स्वास्थ्यकर्मीहरू रहेका छन्।

अस्पताल प्रशासनका अनुसार सेवा प्रवाहमा थप दक्षता ल्याउने, विभागीय कार्यबोझलाई सन्तुलित बनाउने, जनशक्तिको प्रभावकारी परिचालन गर्ने तथा बिरामीलाई छिटोछरितो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्थापन गरिएको हो।

निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शाहद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ नर्सिङ प्रशासन, आर्थिक प्रशासन, कर्मचारी प्रशासन तथा सम्बन्धित शाखा प्रमुखहरूलाई समेत पठाइएको छ। नयाँ जिम्मेवारी अनुसार कर्मचारीहरूले निर्धारित मितिदेखि आ–आफ्नो कार्यक्षेत्रमा सेवा दिनुपर्ने उल्लेख गरिएको छ।

प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्थामध्ये एक मानिने नारायणी अस्पतालमा गरिएको यो जनशक्ति व्यवस्थापनलाई अस्पताल सेवाको गुणस्तर सुधार तथा सेवा सञ्चालनलाई थप व्यवस्थित बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अस्पताल प्रशासनले आवश्यकताअनुसार जनशक्ति व्यवस्थापनलाई निरन्तरता दिँदै सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box