पोखरामा मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट गरें भनेर भीडलाई उत्तेजित पार्दै कुटपिट स्वीकार गर्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बनमा परेका छन् । उनलाई उक्त घटनाको अनुसन्धान अवधिभरका लागि निलम्बन गरिएको हो ।
इन्स्पेक्टर श्रेष्ठले आक्रोशित भीडसामु गएर अपशब्द बोल्दै आफूले डाक्टरलाई रगताम्य हुने गरी कुटपिट गरेको भनेर बोलेको भिडीयो सार्वजनिक भएपछि गृह मन्त्रालयको निर्देशनमा उनीमाथि छानबिन गर्न समिति बनेको छ ।
अस्पताल प्रशासन तथा चिकित्सकहरूले आफूहरुमाथि प्रहरीले कुटपिट गरेको भनेर लगाएको आरोप पुष्टि हुने गरी इन्स्पेक्टर श्रेष्ठले सार्वजनिक अभिव्यक्ति दिएका थिए । इन्स्पेक्टर श्रेष्ठले सार्वजनिक रूपमा उल्लेख गर्न नमिल्ने अपशब्दको प्रयोग गर्दै आक्रोशित भीडमा गएर डाक्टरलाई साफ चुटेर आएको र सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएको बताएका थिए ।
त्यस्तै उक्त घटनामा कमाण्ड सम्हाल्न असक्षम भएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डीएसपी वेदप्रकाश जोशीलाई सरुवा गरिएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार डीएसपी जोशीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागकै डीएसपी राजेन्द्र श्रेष्ठ जाने भएका छन् ।