वीरगञ्ज ५ असार — त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ। सडकको निर्धारित अधिकार क्षेत्रभित्र रहेका घरटहरा तथा अन्य संरचना हटाएर सडक विस्तार, यातायात व्यवस्थापन र सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले सम्बन्धित निकायले आवश्यक तयारी थालेका हुन्।
सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंमार्फत सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकासँग आवश्यक सहयोग तथा समन्वयका लागि औपचारिक पत्राचार गरेको जनाएको छ। मिति २०८३ असार ५ गते महानगरपालिकालाई पठाइएको उक्त पत्रमा सडक अतिक्रमण हटाउने अभियान सञ्चालनका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित पत्रअनुसार मिति २०८३ असार ७ गतेदेखि त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउने कार्य सुरु गरिने जनाइएको छ।
पत्रमा सडकको अधिकार क्षेत्रभित्र निर्माण गरिएका घर, टहरा, पसल तथा अन्य भौतिक संरचनाले सडकको मूल स्वरूप प्रभावित बनाएको, यातायात सञ्चालनमा समस्या सिर्जना गरेको तथा सडक सुरक्षामा समेत चुनौती थपिएको उल्लेख गरिएको छ। त्यसैले सडक ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अतिक्रमित क्षेत्र खाली गराउने अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ।
संरचना हटाउने क्रममा सम्भावित भीडभाड, स्थानीयको प्रतिरोध तथा अन्य सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा व्यवस्थापन, आवश्यक समन्वय र सहजीकरणका लागि वीरगञ्ज महानगरपालिकासँग सहयोग माग गरिएको छ। अभियानलाई प्रभावकारी, व्यवस्थित र विवादरहित ढंगले सम्पन्न गर्न स्थानीय प्रशासन, प्रहरी तथा महानगरपालिकाबीच समन्वय आवश्यक रहेको सडक डिभिजन कार्यालयको भनाइ छ।
सडक विस्तार तथा व्यवस्थापनसँग सम्बन्धित अधिकारीहरूका अनुसार त्रिभुवन राजपथ देशकै महत्वपूर्ण व्यापारिक तथा यातायात मार्गमध्ये एक हो। वीरगञ्ज भन्सार, सुक्खा बन्दरगाह तथा औद्योगिक क्षेत्रसँग प्रत्यक्ष जोडिएको यस सडकमा दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने भएकाले सडकको दायाँ–बायाँ अनियन्त्रित रूपमा बढ्दै गएको अतिक्रमणले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गरिरहेको छ।
स्थानीयवासी तथा व्यवसायीहरूलाई समेत सडकको निर्धारित सीमाभित्र रहेका संरचना हटाउन र सम्बन्धित निकायसँग सहकार्य गर्न आग्रह गरिएको छ। सडक विभागले कानुनबमोजिम सडक अधिकार क्षेत्रभित्र कुनै पनि प्रकारको स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै अतिक्रमण हटाउने अभियानमा अवरोध नगर्न अनुरोध गरेको छ।
यस अघि पनि त्रिभुवन राजपथ तथा अन्य मुख्य सडकखण्डहरूमा सडक सीमा अतिक्रमण हटाउने अभियान सञ्चालन हुँदै आएको थियो। पछिल्लो निर्णयसँगै सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सम्बन्धित निकायहरूले यस अभियानबाट सडक अतिक्रमण नियन्त्रण हुनुका साथै आवागमन थप सहज, सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरेका छन्।




