नारायणी अस्पतालसम्बन्धी प्रकाशित भ्रामक समाचारप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाको आपत्ति

दिपक चौरसिया
वीरगञ्ज, असार ३ — नेपाल चिकित्सक संघ (एनएमए) नारायणी शाखाले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ।

Advertisement

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रतिष्ठामाथि आँच पुग्ने गरी तथ्यहीन, आधारहीन र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै त्यसको कडा शब्दमा निन्दा तथा भर्त्सना गरेको हो।

संघद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो समय समाजको अग्रपङ्क्तिमा रहेर नागरिकको स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई नियोजित रूपमा बदनाम गर्ने, उनीहरूको सामाजिक तथा व्यावसायिक प्रतिष्ठामा क्षति पुर्‍याउने उद्देश्यले केही सञ्चारमाध्यमबाट कपोलकल्पित समाचार प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विशेषगरी असार २८ गते ‘आर्थिक दैनिक डटकम’ मा प्रकाशित “नारायणी अस्पतालमा उपचारभन्दा बढी भ्रष्टाचार” शीर्षकको समाचारप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाले कडा आपत्ति जनाएको छ। संघले उक्त समाचारलाई “येलो जर्नालिज्म” अर्थात् पहेँलो पत्रकारिताबाट प्रेरित, पूर्वाग्रही तथा तथ्यहीन सामग्री भएको दाबी गरेको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त समाचारमा नेपाल चिकित्सक संघ नारायणी शाखाका पूर्व सचिव डा. उदय नारायण सिंह, वर्तमान कार्यसमिति सदस्य डा. दीपक कुमार चौरसिया, डा. कृष्ण साह, डा. आशुतोष झा, डा. इजाज खान लगायत अन्य चिकित्सकहरूको नाम जोडेर विभिन्न आरोपहरू लगाइएको छ। संघका अनुसार ती आरोपहरू कुनै प्रमाण, तथ्य वा आधिकारिक अनुसन्धानबिना प्रस्तुत गरिएका छन्।

संघले पत्रकारिताको न्यूनतम मूल्य, मान्यता र आचारसंहितासमेत उल्लंघन भएको आरोप लगाउँदै समाचार प्रकाशनअघि सम्बन्धित पक्ष, अस्पताल प्रशासन वा चिकित्सकहरूसँग सत्यतथ्यको पुष्टि (क्रस भेरिफाइ) नगरी एकतर्फी ढंगले समाचार सम्प्रेषण गरिएको जनाएको छ। यस्ता गतिविधिले चिकित्सकहरूको चरित्र हत्या गर्ने तथा समाजमा भ्रम फैलाउने काम गरेको संघको ठहर छ।

नेपाल चिकित्सक संघले नारायणी अस्पताल प्रशासनले यसअघि नै जारी गरेको प्रेस विज्ञप्तिमा समेत समाचारमा उठाइएका विषयहरूलाई आधारहीन, अपूर्ण तथा व्यक्तिगत रिसइबीका कारण प्रेरित आरोपका रूपमा खण्डन गरिसकेको उल्लेख गरेको छ। अस्पताल प्रशासनले समाचारमा समेटिएका अधिकांश दाबीहरूको तथ्यगत आधार नरहेको स्पष्ट पारेको संघको भनाइ छ।

संघले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै कोभिड–१९ महामारी, डेंगु लगायतका विभिन्न स्वास्थ्य संकटका समयमा समेत निरन्तर सेवा प्रवाह गर्दै आएका चिकित्सकहरूलाई बिना प्रमाण मानसिक तनाव दिने र बदनाम गर्ने कार्यले समग्र स्वास्थ्य सेवा प्रणालीमै नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ।

प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघ नारायणी शाखाले आफ्ना सम्पूर्ण सदस्य चिकित्सकहरूको साथमा दृढतापूर्वक उभिएको प्रतिबद्धता व्यक्त गरेको छ। साथै सम्बन्धित सञ्चारमाध्यम तथा पत्रकारलाई उक्त समाचार तत्काल हटाउन, सत्यतथ्यका आधारमा समाचार सच्याउन तथा सार्वजनिक रूपमा क्षमायाचना सहित खण्डन प्रकाशित गर्न माग गरेको छ।

संघले चेतावनी दिँदै २४ घण्टाभित्र समाचार सच्याइएर सार्वजनिक माफी नमागिए चिकित्सकहरूको प्रतिष्ठा, हकहित तथा पेशागत सुरक्षाको संरक्षणका लागि प्रेस काउन्सिल नेपाल, साइबर ब्युरो तथा अन्य कानुनी निकायमा उजुरी दिई कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गरिने संघको भनाइ छ।

अन्त्यमा संघले आम नागरिक, बिरामी तथा सरोकारवालाहरूलाई यस्ता भ्रामक, पूर्वाग्रही र अपुष्ट समाचारको प्रभावमा नपर्न आग्रह गर्दै सत्यतथ्य र प्रमाणमा आधारित सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ।
उक्त प्रेस विज्ञप्तिमा नेपाल चिकित्सक संघ नारायणी शाखाका महासचिव डा. अजय कुमार यादवको हस्ताक्षर रहेको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box