वीरगञ्ज जेठ २८ — नारायणी अस्पताल, वीरगञ्जले एक राष्ट्रिय दैनिकमा प्रकाशित “नारायणी अस्पतालमा उपचारभन्दा बढी भ्रष्टाचार” शीर्षकको समाचारप्रति कडा आपत्ति जनाउँदै उक्त सामग्री तथ्यहीन, भ्रामक तथा अस्पतालका चिकित्सक र कर्मचारीहरूको प्रतिष्ठामाथि आघात पुर्याउने उद्देश्यले प्रकाशित गरिएको आरोप लगाएको छ।
अस्पताल प्रशासनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारमा उठाइएका विषयहरूको बुँदागत रूपमा खण्डन गरेको हो। अस्पताल प्रशासनका अनुसार समाचारमा उल्लेख गरिएका डा. कृष्ण साह, डा. उदय नारायण सिंह, डा. आशुतोष साह, डा. दीपक कुमार चौरसिया तथा डा. इजाज खानजस्ता चिकित्सकहरू लामो समयदेखि अस्पतालमा कार्यरत अनुभवी र सेवाग्राहीमाझ लोकप्रिय चिकित्सकहरू हुन्।
उनीहरूलाई गलत रूपमा प्रस्तुत गरी अस्पतालको छविमा नकारात्मक असर पार्ने प्रयास गरिएको प्रशासनको दाबी छ। विज्ञप्तिअनुसार डा. कृष्ण साह नेपाल सरकारको स्वीकृत दरबन्दीअनुसार वरिष्ठ कन्सल्टेन्ट (नवौँ तह) का चिकित्सक हुन् भने डा. उदय नारायण सिंह मेडिकल अधिकृत (आठौँ तह) का रूपमा कार्यरत छन्। समाचारमा उनीहरूको पद तथा जिम्मेवारीसम्बन्धी तथ्यहरू समेत गलत रूपमा प्रस्तुत गरिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले सेवा प्रवाहमा सबैभन्दा बढी समय खटिने चिकित्सकमध्ये डा. कृष्ण साह, डा. उदय नारायण सिंह, डा. आशुतोष साह, डा. दीपक कुमार चौरसिया र डा. इजाज खान अग्रपंक्तिमा रहेको उल्लेख गरेको छ। विशेषगरी ओपीडी तथा आकस्मिक सेवा सञ्चालनमा उनीहरूको महत्वपूर्ण योगदान रहेको अस्पतालको भनाइ छ। आकस्मिक कक्षमा बढी जिम्मेवारी वहन गर्ने चिकित्सकका रूपमा डा. दीपक कुमार चौरसिया र डा. इजाज खानलाई उल्लेख गरिएको छ।
प्रशासनले चिकित्सकहरूले अस्पतालको नियमित ड्युटी सम्पन्न गरेपछि निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा सेवा दिन सक्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ। अस्पतालको नियमित सेवामा कुनै असर नपर्ने गरी गरिने यस्ता गतिविधिप्रति अस्पताल जिम्मेवार नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
अस्पतालले ती चिकित्सकहरू अस्पतालको समग्र विकास, सेवा विस्तार, सेवाग्राही सन्तुष्टि तथा उपचार सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर चिन्तित र सक्रिय रहेको जनाएको छ। उनीहरूले विगतमा कोभिड–१९ महामारी, डेंगु संक्रमण, स्वाइन फ्लु, हैजा तथा अन्य स्वास्थ्य संकटका बेला समेत अग्रपंक्तिमा रहेर सेवा दिएको अस्पतालले स्मरण गराएको छ।
विज्ञप्तिमा अस्पतालका प्रशासनिक तथा व्यवस्थापकीय कामकाजमा समेत चिकित्सकहरूको सकारात्मक भूमिका रहेको उल्लेख गरिएको छ। हालसम्म उनीहरूविरुद्ध कुनै सेवाग्राही वा अन्य सरोकारवालाबाट औपचारिक उजुरी प्राप्त नभएको अस्पतालको दाबी छ। व्यक्तिगत स्वार्थ वा पूर्वाग्रहका आधारमा चिकित्सकहरूको चरित्रहत्या गर्ने उद्देश्यले समाचार प्रकाशित गरिएको हुनसक्ने आशंका पनि अस्पताल प्रशासनले व्यक्त गरेको छ।
अस्पतालले डा. उदय नारायण सिंह हाल आवासीय विभागको इन्चार्ज नरही अन्य विभागमा कार्यरत रहेको स्पष्ट पारेको छ। समाचारमा प्रस्तुत केही जिम्मेवारी र पदसम्बन्धी विवरण वास्तविकतासँग मेल नखाने अस्पतालको भनाइ छ।
यसैबीच अस्पतालले आफूले वर्षौंदेखि पूर्वाधार र जनशक्ति अभावको समस्या झेल्दै आएको स्वीकार गरेको छ। सीमित स्रोत–साधनका बीच बढ्दो बिरामी चाप व्यवस्थापन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरू निरन्तर खटिरहेको अवस्थामा सम्पूर्ण समस्याको दोष कुनै एक चिकित्सक वा कर्मचारीमाथि थोपर्नु न्यायोचित नहुने अस्पतालले जनाएको छ।
विज्ञप्तिमा अस्पतालमा कार्यरत केही चिकित्सकहरू स्वेच्छिक रूपमा क्लिनिकल प्राक्टिसका लागि खटिएको र उनीहरू अस्पतालको प्रत्यक्ष निगरानी तथा निर्देशनमा सेवा दिइरहेको जानकारी दिइएको छ। त्यस्ता चिकित्सकहरूलाई कुनै प्रमुख प्रशासनिक जिम्मेवारी नदिइएको पनि स्पष्ट पारिएको छ।
अस्पताल प्रशासनले सेवाग्राहीलाई अस्पतालको फार्मेसीमा उपलब्ध औषधि बाहिरबाट खरिद गर्न बाध्य पार्ने कार्य पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। अस्पतालभित्र उपलब्ध औषधि बाहिरबाट किनाउन लगाइएको पाइएमा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
अन्त्यमा, अस्पतालले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग प्रतिक्रिया लिनुपर्ने सामान्य पत्रकारिताको मर्मसमेत पालना नगरिएको भन्दै अस्पतालले असन्तुष्टि जनाएको छ। अस्पतालले उक्त समाचारबाट अस्पताल तथा इमानदार चिकित्सकहरूको चरित्रहत्या गर्ने प्रयास भएको दाबी गर्दै आवश्यक परे सम्बन्धित निकायमा कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।
नारायणी अस्पतालले स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन आफूहरू प्रतिबद्ध रहेको दोहोर्याउँदै गलत सूचना र अफवाहको पछि नलाग्न आम नागरिकसँग आग्रह गरेको छ।




