गण्डकमा ‘लापसे’ विशेष चेकजाँच : ५ चालक नियन्त्रणमा, २२ जनाको परीक्षण

दिपक चौरसिया
वीरगञ्ज ५ असार । वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालक नियन्त्रणमा परेका छन्।

Advertisement

सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा लागू पदार्थ वा अन्य कारणले असामान्य अवस्थामा सवारी चलाइरहेका चालकहरूको परीक्षण गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नारायणी अस्पतालको संयुक्त सहकार्यमा पथलैया–वीरगञ्ज सडकखण्डमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूको स्वास्थ्य अवस्था, सचेतनाको स्तर तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी परीक्षण गरिएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठका अनुसार अभियान अन्तर्गत २२ जना चालकको लापसे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ जना निजी सवारीसाधन चालक र ४ जना सार्वजनिक सवारीसाधन चालक गरी कुल ५ जनामा लापसे सम्बन्धी समस्या देखिएको पाइएको हो।

प्रहरीका अनुसार परीक्षणमा समस्या देखिएका चालकहरूलाई तत्काल नियन्त्रणमा लिइएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। सार्वजनिक सवारीसाधन चालकहरू समेत लापसे अवस्थामा फेला पर्नुले यात्रु सुरक्षामाथि गम्भीर चुनौती खडा हुने भएकाले यस प्रकारका चेकजाँचलाई अझ कडाइका साथ अगाडि बढाइने प्रहरीको भनाइ छ।

प्रहरीले पछिल्लो समय सडक दुर्घटनाका प्रमुख कारणमध्ये एक लापरवाहीपूर्वक सवारी सञ्चालन, लागू पदार्थ सेवनपछि सवारी चलाउने प्रवृत्ति तथा ट्राफिक नियमको उल्लङ्घन रहेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन र विशेष अभियान सञ्चालन गरिँदै आएको जनाएको छ।

अभियानमा नारायणी अस्पतालका डाक्टर दिपक चौरसिया र उनका टोलि समेत सहभागिता रहेको थियो। स्वास्थ्यकर्मीहरूले चालकहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएका थिए। संयुक्त रूपमा सञ्चालन गरिएको यस्तो अभियानले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, कुनै पनि प्रकारको लागू पदार्थ सेवनपछि सवारी नचलाउन तथा यात्रु र सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। कार्यालयले सडक सुरक्षा अभिवृद्धि, दुर्घटना न्यूनीकरण तथा अनुशासित यातायात प्रणाली निर्माणका लागि आगामी दिनमा पनि यस्ता विशेष चेकजाँच अभियानलाई निरन्तरता दिइने जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box