वीरगञ्ज, १९ असार। पकाहामैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजयकुमार चौरसियाले आफू पक्राउ परेको भन्ने समाचार पूर्ण रूपमा भ्रामक, कपोलकल्पित र आधारहीन रहेको भन्दै त्यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै चौरसियाले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफू पक्राउ परेको भन्ने समाचार प्रसारित भइरहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन्।
उनले आफू कुनै पनि निकायबाट पक्राउ नपरेको दाबी गर्दै सत्यतथ्य पुष्टि नगरी प्रकाशित तथा प्रसारित गरिएका समाचार पत्रकारिताको आचारसंहिता र व्यावसायिक मर्यादाविपरीत रहेको बताएका छन्। यस्ता आधारहीन समाचारले आमजनतामा भ्रम सिर्जना गर्नुका साथै व्यक्तिको प्रतिष्ठामाथि समेत नकारात्मक असर पार्ने उनको भनाइ छ।
चौरसियाले सम्पूर्ण सञ्चारमाध्यमलाई समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित पक्षसँग तथ्य पुष्टि गर्न आग्रह गरेका छन्। साथै सामाजिक सञ्जाल प्रयोगकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई अपुष्ट र भ्रामक सूचनामा विश्वास नगरी आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेका छन्।
भ्रामक समाचारको खण्डन गर्दै उनले जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको अभ्यास गर्न सञ्चारमाध्यमसमक्ष आग्रह गरेका छन्।




