पर्सा २१ असार । पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा लायन्स क्लब अफ पोखरियाको आयोजनामा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री रहनुभएको थियो।
कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान, लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महिला नेत्री आशा चौहान, क्लबका पदाधिकारी तथा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा हनुमान मन्दिरको जग्गा नामसारी गराउन विशेष पहल गरी महत्वपूर्ण योगदान पुर्याउनुभएका गोरख साह तेलीलाई उहाँको योगदानको उच्च कदर गर्दै प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।
वृक्षारोपणपछि आयोजित कार्यक्रममा वक्ताहरूले हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट आपसी विवादका कारण समयमै खर्च हुन नसकी फ्रिज हुनु दुःखद तथा दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। विकास निर्माणका योजनालाई सफल बनाउन राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदायबीच आपसी समझदारी, सहकार्य र एकता अपरिहार्य रहेको उनीहरूको धारणा थियो।
वक्ताहरूले हनुमान मन्दिर परिसरलाई हरियालीयुक्त, स्वच्छ, आकर्षक तथा धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए। वृक्षारोपणजस्ता वातावरण संरक्षणका अभियानले प्राकृतिक सौन्दर्य वृद्धि गर्नुका साथै भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको थियो।
लायन्स क्लब अफ पोखरियाले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




