काठमाडौं, साउन १ — प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने तथा आगामी मौद्रिक नीतिलाई लचिलो र उद्यममैत्री बनाउने विषयमा सिंहदरबारमा छलफल भएको छ।
करिब एक घण्टा चलेको भेटवार्तामा प्रधानमन्त्री शाहले सरकार र नेपाल राष्ट्र बैंकबीच प्रभावकारी समन्वय र सहकार्यबाट मात्र अर्थतन्त्रप्रति जनविश्वास तथा आर्थिक आत्मविश्वास अभिवृद्धि गर्न सकिने धारणा राख्नुभएको थियो। उहाँले आगामी मौद्रिक नीतिमार्फत आवश्यक सहजीकरण, लचकता र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने व्यवस्था समेट्न सुझाव दिनुभएको बताइएको छ।
प्रधानमन्त्री शाहले विशेषगरी सेयर बजारका लगानीकर्ताको मनोबल उच्च बनाउन मौद्रिक नीतिका सीमाहरू खुकुलो पार्न, बैंकको ब्याजदर घटाउन तथा कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन आग्रह गर्नुभएको थियो। साथै, महिला, युवा तथा पिछडिएका क्षेत्रका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न मौद्रिक उपकरणहरूको प्रभावकारी परिचालन आवश्यक रहेकोमा जोड दिनुभयो।
भेटका क्रममा गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंक मुलुकको आर्थिक गतिविधिलाई गति दिने उद्देश्यका साथ व्यावसायिक, व्यवहारिक र लचिलो मौद्रिक नीति ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकार र केन्द्रीय बैंकको साझा दायित्व भएको उल्लेख गर्दै सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई सहज वातावरण उपलब्ध गराउने गरी आवश्यक नीतिगत सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो।
छलफलमा लगानी अभिवृद्धि, निजी क्षेत्रको मनोबल उच्च बनाउने, वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने तथा उत्पादन र रोजगारी विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा समेत सकारात्मक विचार–विमर्श भएको जनाइएको छ।




