नयाँ सांसदहरूको स्वागतका लागि तयारी तीव्र गतिमा

काठमाडौ १७ मंसिर ।
सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार विनोद तामाङ बगैँचा बनाउने काममा व्यस्त थिए । उनी सहित ६ जनाको टोली चाइनिज दुबो लगाउने काममा व्यस्त थिए भने उनकै साथीहरूको अर्को टोली एमाले तथा कांग्रेसको संसदीय दलको कार्यालयमा रङ रोगनको काममा व्यस्त थिए । शुक्रबार संसद् सचिवालय परिसरमा सरसफाइकर्मी, बगैँचाका माली लगायतका कर्मचारी संसद् सचिवालयलाई सफा र आकर्षक बनाउन खटिएका थिए ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आउनै लाग्दा संघीय संसद् सचिवालयले नयाँ सांसदहरूको स्वागतका लागि तयारी तीव्र पारेको हो । सिंहदरबारस्थित संसद् सचिवालयको कार्यालय र नयाँ बानेश्वरस्थित भाडाको संसद् भवनमा रङ रोगन गर्ने, बगैँचा सजाउने तथा कार्यालय व्यवस्थापनको काम अघि बढाएको हो ।

निर्वाचन आयोगबाट आधिकारिक रूपमा विवरण नआए पनि संसद्मा केही नयाँ दलको समेत प्रवेश हुने भएपछि संसद् सचिवालय संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई बताए ।

उनले भने–‘हामीले निर्वाचन आयोगको आधिकारिक पत्र नपाए पनि निर्वाचनको परिणाम हेर्दा संघीय संसद् सचिवालयले दलहरूको व्यवस्थापनका लागि विभिन्न कसरत गर्नुपर्ने भएकोले हामी त्यसको तयारीमा जुटेका छौँ । अहिले सभाहलहरुलाई मर्मत गर्ने, यसलाई रङ रोगन गर्ने र स्वास्थ्य मापदण्ड अनुसार यसलाई व्यवस्थापन गर्ने काम भइरहेको छ । संसद् भवनबाट गरिने लाइभ प्रसारणको परीक्षण गर्ने काम भइरहेको छ ।’

दुई मात्र सांसद भएको पार्टीलाई संसदीय दलको कार्यालय खोल्न पाउने कानुनले व्यवस्था गरेअनुसार उनीहरूको कार्यालयका लागि खाली ठाउँ र फर्निचरहरूको व्यवस्था गर्न जुटिरहेको प्रवक्ता पाण्डेले बताए । सिंहदरबार परिसर भित्र रहेका हेलो सरकारको कार्यालय भवन उपयुक्त भएकोले त्यसको व्यवस्था मिलाउन मुख्य सचिवलाई आग्रह गरेको प्रवक्ता पाण्डेले बताए ।

उनले भने–‘त्यसका लागि अहिले हामीसँग सिंहदरबारमा भएका कोठाहरूले पुग्दैन बानेश्वरमा पनि अन्य निकायहरू बसेको हुनाले हामीलाई कोठाहरूको अभाव छ । तैपनि भएका कोठाहरू र अरू थप कोठाहरू सिंहदरबारमा उपलब्ध गराउनका लागि हामीले सहरी विकास मन्त्रालयका सचिवसँग छलफल गरेका थियौँ । मुख्य सचिवलाई पत्राचार गरेर सिंहदरबारभित्र पुनर्निर्माण प्राधिकरणले बनाएको प्रिफ्याव भवनहरू, हेलो सरकारले प्रयोग गरेको भवन लगायतमा खाली ठाउँ रहेकोमा सो उपलब्ध गराउनका लागि हामीले अनुरोध गरेका छौँ ।’

Facebook Comments Box

समन्धित समाचार