दिपक चौरसिया
बिरगंज १० मंसिर । भारतको मुम्बईमा चौद वर्ष अघि भएको आतंकी हमलामा ज्यान गुमाएको सम्झनामा वीरगन्जमा क्यान्डील मार्च निकालिएको छ । आजकै दिन भारतको महाराष्ट्र राज्यस्थित मुम्बई शहरका विभिन्न स्थानमा भएको आतंकवादी हमलामा ज्यान गुमाएकाहरुलाई सम्झदै वीरगञ्जमा र्याली निकालिएको छ ।
स्वतन्त्र युवा समाज नामक स्थानीय युवाहरुको समूहले २६ /११ मुम्बई आतंकी हमला मानवताको लागि कलंक हो, आतंकी हमलाका दोषी पाकिस्तान मुर्दाबाद, आतंकबाद विचारधाराको अन्त्य होस, विश्वशान्तिमा अवरोधक आतंकबाद मुर्दाबाद, आतंकबादको जन्मदाता पाकिस्तान मुर्दाबाद लगायत अंकित नारा उल्लेख गरिएको प्लेकार्ड समेत प्रर्दशन गरेका हुन ।
वीरगञ्जको मुख्य चोक माइस्थानबाट निकालिएको र्याली नगरपरिक्रमा गर्दै पुन: गहवामाई मन्दिर नजिकै रहेको पार्कमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो । पार्क पुगेका युवाहरुले मृतकहरुको सम्झनामा मैनबत्ती बालेर केहि समयका लागि मौन धारण पनि गरेका थिए ।
श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै वक्ताहरुले आतंकवादको अन्त्य गर्न सबै मिलेर लाग्नुपर्ने बताए । भारत नेपालको सबैभन्दा निकटको मुलुक भएको कारण त्यहाँ भएको आक्रमणबाट नेपाललाई पनि पिडा पुगेको र आतंकवादविरुद्धको लडाईमा नेपाली जनता भारतको साथमा रहेको वक्ताहरुले बताएका थिए ।
२००८ को नोभेम्बर २६ मा आतंककारी संगठन लस्कर–ए–तैयबाका दश प्रशिक्षित सशस्त्र लडाकुले मुम्बईका धेरै ठाउँ र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए ।
आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए ।
मुम्बई प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणकारीहरू दुई समूहमा विभाजित थिए ।