बिरगंज १ मंसिर । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि पर्सा लगाएत नेपाल-भारत जोडिएको सीमानाका बिहीबार मध्यरातिदेखि बन्द हुने भएकाे छ । निर्वाचन भन्दा ४८ घण्टा अघि नेपाल-भारत संघ जोडिएको सम्पुर्ण सीमानाका बन्द गर्न निर्णय गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि अर्थात् मङ्सिर १ गते मध्यराति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार मध्यराति १२ बजेसम्म सीमानाका बन्द हुनेछ ।
मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
प्रतिनिधिसभाका १६५ सिटमा दुई हजार ४१२ र सातै प्रदेशका ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार छन् । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । मतदानका लागि आयोगले १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकेको छ । निर्वाचनका लागि दुई लाख ४७ हजार कर्मचारी खटिने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नको लागि नेपाल–भरात सीमानाकाहरु बन्द गर्न लागेकाे पर्साका प्रमुख जिल्ला अधिकार उमेश कुमार ढकालले जानकारी दिनु भयो । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने व्यवस्था छ ।