नेपाल-भारत ऊर्जा सहकार्य: सुख्खा याममा विद्युत आपूर्ति सहज बनाउन कूटनीतिक पहल तीव्र

काठमाडौं। नेपाल र भारतबीचको द्विपक्षीय सम्झौता तथा इन्डियन इनर्जी एक्सचेन्ज (IEX) मार्फत नेपालमा थप विद्युत आपूर्ति वृद्धि गर्ने विषयमा कूटनीतिक पहल सुरु गरिएको छ।

Advertisement

परराष्ट्र मन्त्री डा. आरजु राणाले सामाजिक सञ्जाल X (पहिलेको ट्विटर) र फेसबुक मार्फत आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतबाट थप अवधिका लागि विद्युत आयात गर्न सक्ने वातावरण बनाउन कूटनीतिक प्रयास गरिएको बताउनुभएको छ। नेपालमा देखिएको सुख्खा यामको विद्युत अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न भारतसँगको द्विपक्षीय सम्झौता र इन्डियन इनर्जी एक्सचेन्ज जस्ता प्रारूपहरू अन्तर्गत थप विद्युत आयात गर्ने पहल भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।

वर्षायाममा झण्डै १००० मेगावाट विद्युत भारतलाई निर्यात गर्दै आएको नेपालले सुख्खा याममा भने भारतबाट विभिन्न प्रारूप अन्तर्गत विद्युत आयात गर्दै आएको छ। हाल नेपालले मुख्यतः इन्डियन इनर्जी एक्सचेन्ज (IEX) मार्फत विद्युत खरिद गरिरहेको छ। यसबाहेक पावर एक्सचेन्ज कमिटी अन्तर्गत बिहार र उत्तर प्रदेशबाट पनि विभिन्न भोल्टेज लेवलमा नेपालले विद्युत आयात गर्दै आएको छ।

परराष्ट्र मन्त्री राणाको ट्वीटसँगै नेपालले हाल IEX बाट दैनिक खरिद गरिरहेको विद्युत आपूर्ति अवधि बढ्ने र परिमाणमा वृद्धि हुने सम्भावना देखिएको छ।

हाल नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत बढ्दो माग तथा आपूर्ति असन्तुलनका कारण प्रयाप्त हुन नसकेको अवस्था छ। यसले औद्योगिक ग्राहकहरूमा विद्युत आपूर्तिमा कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सरकारले दीर्घकालीन रूपमा विद्युत उत्पादन वृद्धि गरी ऊर्जा सुरक्षाको योजना अघि बढाए पनि सुख्खा याममा केही वर्ष नेपालले विद्युत आयात गर्नैपर्ने बाध्यता रहेको छ।

यसैबीच, भारतबाट थप विद्युत आपूर्ति सुनिश्चित गर्न ऊर्जा मन्त्रालयले पनि सक्रिय भूमिका खेलिरहेको छ। हालको कूटनीतिक पहल सफल भएमा थप विद्युत आयात मार्फत नेपालको विद्युत आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box