वीरगञ्ज/काठमाडौं, जेठ ५ — नेपाल विश्व हिन्दु महासंघले हिन्दु नेता विजय प्रकाश निषादको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै अविलम्ब बिना शर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
महासंघको केन्द्रीय कार्यालय काठमाडौंबाट जारी प्रेस विज्ञप्तिमा पर्सा प्रहरीले गरेको निषादको गिरफ्तारीप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। महासंघका अनुसार लोकतान्त्रिक मुलुकमा आफ्ना विचार, धर्म, संस्कृति तथा आस्थाको पक्षमा आवाज उठाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार हो।
विज्ञप्तिमा हिन्दु धर्म र धार्मिक पहिचानको वकालत गरेका कारण कुनै पनि राजनीतिक वा सामाजिक व्यक्तिलाई पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरिएको छ।
महासंघले नेपालका बहुसंख्यक नागरिक हिन्दु धर्म र वैदिक सनातन संस्कृतिसँग आबद्ध रहेको उल्लेख गर्दै नागरिकको मौलिक अधिकारमाथि कुण्ठा उत्पन्न गर्ने उद्देश्यले गरिएको जस्तो देखिने यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको जनाएको छ। यस्ता गतिविधिले राज्यप्रति नागरिकको विश्वास कमजोर बनाउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
घटनाप्रति गम्भीर आपत्ति जनाउँदै महासंघले सरकार तथा सम्बन्धित निकायसँग विजय प्रकाश निषादलाई अविलम्ब बिना शर्त रिहा गर्न जोडदार माग गरेको छ। साथै नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न र राजनीतिक तथा वैचारिक आधारमा दमन नगर्न सरकारसँग आग्रह गरिएको छ।




