वीरगंज अधिकांश मासु पसल रोग फैलाउने कारखाना

वीरगंजका अधिकांश मासु पसलहरू रोग फैलाउने कारखानाजस्ता रहेको जिल्ला प्रशासन कार्यालय, पर्साको अनुगमनले देखाएको छ।

फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गरी मासु व्यवसायीहरूले मनपरी मूल्य बढाएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, पर्साको नेतृत्वमा वीरगंजका मासु पसलमा छापा मारिएको छ। छापा मार्ने क्रममा अधिकांश मासु पसल बिना इजाजत सञ्चालन भएको पाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको संयोजकत्वमा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, भेटनरी अस्पताल र माछामासु व्यवसायी संघका प्रतिनिधिहरू संलग्न टोलीले वीरगन्जको मुर्लीचोक, राधेमाई, चण्डाल चोक, रामगढवा, छपकैयालगायतका स्थानमा सञ्चालित ९ वटा मासु पसलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा न्यू घरकत मिट हाउस, समिम फ्रेस हाउस एण्ड सप्लायर्स, आरिक फ्रेस हाउस, दिलसाद फ्रेस हाउस, सुलमानमियाको मासु पसल, महम्मद स्टोर, अफताव मिट स्टोर, न्यु लक्की मिट हाउस र टौमिर एण्ड टौसिर मासु पसलमा मूल्यसूची नराखेको, सरसफाइमा ध्यान नदिएको र इजाजत बिना सञ्चालन भएको पाइएको थियो।

अनुगमन टोलीले ५० प्रतिशतभन्दा बढी मासु पसल बिना इजाजत सञ्चालन भएको, वातावरण प्रदूषित गरेको, अस्वस्थ मासु बिक्री गरेको, उपयुक्त चिस्यानको व्यवस्था नगरेको र मासुको भण्डारण उचित तरिकाले नगरेको जनाएको छ। यस्तो मासुको सेवनले विभिन्न प्रकारका रोग लाग्न सक्ने खतरा रहेको चिकित्सकहरूले बताएका छन्।

अनुगमनपछि प्रशासनले मासु पसलहरूलाई जथाभावी मूल्य नबढाउने, अनिवार्य रूपमा मूल्यसूची राख्ने, स्वच्छ र स्वस्थ मासु बिक्री गर्ने, इजाजत बिना सञ्चालनमा रहेका पसललाई ७ दिनभित्र इजाजतपत्र लिई प्रशासन कार्यालयमा उपस्थित हुने, नापतौल यन्त्र प्रमाणित गराएर मात्रै प्रयोग गर्ने, रोग लागेको वा मरेको पशुको मासु बिक्री नगर्ने, एक जातको मासु अर्को जातको मासुमा मिसावट नगर्ने र एक जातको मासु अर्को जातको भनेर झुक्याई बिक्री नगर्ने निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपभोक्ताहरूलाई स्वच्छ मासु सेवनमा विशेष ध्यान दिन, ताजा र स्वस्थकर मासु मात्रै खरिद गर्न र मनपरी मूल्य तथा गुणस्तरहीन मासु बिक्री गरेको देखेमा प्रशासन र प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ। श्रोत गोप्य खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.