ने ज पार्टीले गढ़ीमाई मन्दिरमा भएको तोडफोडको विरोधमा ज्ञापनपत्र

नेपाल जनता पार्टीले गढ़ीमाई मन्दिरमा भएको तोडफोडको विरोधमा बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

Advertisement

बारा ८ माघ । बारा जिल्लास्थित ऐतिहासिक एवं धार्मिक महत्वको श्री गढ़ीमाई मन्दिरमा भएको तोडफोड र अराजक गतिविधिको विरोधमा नेपाल जनता पार्टी (नेजपा) बारा जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा विश्वभरका हिन्दूहरूको आस्था केन्द्रका रूपमा स्थापित श्री गढ़ीमाई मन्दिर शक्तिपीठमाथि भएको तोडफोडको घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

नेपाल जनता पार्टीका अनुसार, श्री गढ़ीमाई मन्दिर शक्तिपीठले बारा जिल्लाको मात्र नभई नेपालकै पहिचान विश्वसामु स्थापित गरेको छ। हालसालै आयोजित पंचवर्षीय गढ़ीमाई मेलामा देश तथा विदेशका लाखौं भक्तजनहरूको सक्रिय सहभागिताले यस मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई थप बलियो बनाएको थियो।

माघ ३ गते राति मन्दिरमा केही आपराधिक मानसिकता भएका व्यक्तिहरूले योजना बनाएर तोडफोड गरेका थिए। यस घटनाले धार्मिक स्थलको गरिमा घटाउने काम मात्र नगरी सम्पूर्ण हिन्दू समाजलाई मर्माहत बनाएको नेजपाको ठहर छ।
ज्ञापनपत्रमा मन्दिरमा चढाइएको परेवा कसैले समातेर खाने कामको पनि कडा विरोध गरिएको छ। यस्तो गतिविधिले धार्मिक आस्थामा गम्भीर चोट पुर्‍याएको भन्दै घटनाका दोषीलाई पत्ता लगाई कडा कानूनी कारबाही गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा नेजपाले सीडीओलाई यो घटनालाई सामान्य रूपमा नलिन आग्रह गर्दै दोषीलाई अविलम्ब कानूनी दायरामा ल्याउन माग गरेको छ। दोषीमाथि कारबाही नगरिए मन्दिरको सम्मान र धार्मिक आस्थाको रक्षाका लागि आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत नेजपाले दिएको छ।

ज्ञापनपत्र बुझाउन वरिष्ठ नेता सन्तोषानन्द महाराजको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्यहरू प्रह्लाद साह कलवार, गोपाल दास, पारस दुबेदी, अरुण चौधरी, बारा जिल्ला अध्यक्ष कृष्णा शुक्ला, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह कानू, कार्यसमिति सदस्यहरू प्रमोद शर्मा, सुमन्त कुमार दीप, अंशु कुमार प्रजापति, पीयूस गुप्ता, निर्मला चौधरी, गोपी चौधरी, सोनालाल साहलगायतका हिन्दूवादी अगुवाहरू सहभागी थिए।

नेपाल जनता पार्टीले यो घटनाले धार्मिक सहिष्णुतामा गम्भीर प्रभाव पार्ने भन्दै तत्काल दोषीमाथि कारबाहीको माग गरेको छ। स्थानीय प्रशासनले घटनाबारे छानबिन गरी दोषीलाई कानूनी कठघरामा उभ्याउने आश्वासन दिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box