वीरगंज ९ मंसिर । वीरगंज विधान विपरीत अधिवेशन गर्न लागेको भन्दै वीरगंज जेसिजका पूर्व अध्यक्ष तथा पदाधिकारीहरूले आपत्ति प्रकट गरेका छन्। उमेर हदका कारण जेसिज अजय चौधरीलाई नेपाल जेसिजले अयोग्य ठहर गर्दै अध्यक्ष नरहेको वीरगंज समितिलाई परिपत्र गरेको थियो। तर, त्यसलाई लत्याउँदै उनले आफ्नै नेतृत्वमा ५२औं वार्षिक साधारणसभा शनिबार वीरगंजमा गर्न लागेको वीरगंज जेसिजका पूर्व अध्यक्ष मनिष श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार चौधरीले विधान विपरीत आफू अध्यक्ष रहेको दाबी गर्दै जेसिजको म्यानुअल तथा आवश्यक कागजातहरू किर्ते गरी दुरुपयोग र जालसाजी गरेका छन्। नेपाल जेसिजका केन्द्रीय महासचिव सरोज अधिकारीले अर्को सूचना नआउञ्जेलसम्म वीरगंज शाखालाई कुनै पनि गतिविधि नगर्न/नगराउन पत्राचार गरिसकेका थिए। तर, चौधरीले उक्त पत्रको अवज्ञा गर्दै मनोमानी गर्न थालेपछि वीरगंज जेसिज विवादमा तानिएको हो।
५१औं अधिवेशनमा अध्यक्ष चयन भएपछि चौधरीको नाममा विवाद सिर्जना भएको थियो। उनको नागरिकता छानबिन गर्दा जन्ममितिका आधारमा उमेर हदका कारण उनी अध्यक्ष हुन अयोग्य ठहरिएका थिए। त्यसपछि केन्द्रीय समितिलाई घटनाबारे जानकारी गराइएको थियो, जसअनुसार समितिले चौधरीलाई अध्यक्षको हैसियतमा कुनै पनि गतिविधि नगर्न पत्र पठाएको थियो।
तर, चौधरीले अझै पनि एकलौटी पारामा काम गरिरहेको पूर्व अध्यक्षहरूको भनाइ छ। वीरगंज जेसिजका पूर्व अध्यक्ष श्रेष्ठले विधान विपरीत गर्न लागिएको अधिवेशनको कुनै औचित्य नरहेको र यसले जेसिज वीरगंजलाई पहिलोपटक विवादमा तानेको बताए। श्रेष्ठका अनुसार चौधरीको नेतृत्वमा गरिने अधिवेशन कसैलाई मान्य हुने छैन।
निर्वाचन अधिकृत भनिएका अरविन्द श्रेष्ठले नेपाल पोष्ट डेलीलाई भने, “हामीलाई निर्वाचन प्रक्रिया रोक्नेबारे कुनै आधिकारिक पत्र आएको छैन। अधिवेशनबाटै नयाँ नेतृत्व चयन हुनेछ।”
यता, नेपाल जेसिजका केन्द्रीय अध्यक्ष रविन पोखरेलले नेपाल पोष्ट डेली संग कुरा र्गर्दै भने, “विवादपछि हामीले छानबिन गरी प्रतिवेदन पेश गर्न भनेका थियौं। साथीहरूले मनोमानी ढंगले गरेको कुनै पनि निर्णय केन्द्रीय समितिले मान्न बाध्य हुने छैन।”
उनले बन्द कोठाभित्र दुई जनाले गरेको निर्णयलाई अधिवेशन भन्नु लज्जास्पद भएको बताए। पोखरेलले वीरगंज शाखाको विवाद समाधान गर्न केन्द्रीय समितिले चाँडै बैठक बस्ने र ठोस निर्णय लिने जानकारी दिए।
केन्द्रीय समितिले पठाएको पत्र जेसिज वीरगंज कार्यालयको मुख्य गेटमा टाँस गरिएको भए पनि उक्त पत्रलाई बेवास्ता गरी अधिवेशनको नाटक गरिएपछि वीरगंज जेसिजका अधिकांश सदस्यहरू छक्क परेका छन्।