बिरगंज ३ बैशाख । बिरगंजमा सु–प्रसिद्ध एतिहासिक श्री गहवा माईको भोली बैशाख ४ गते हुन गइरहेको निशान सहितको प्रथम डोलि यात्राको तयारी पुरा भएको छ ।
माइस्थान सञ्चालक समितीका अध्यक्ष नरेन्द्र कुमार शाहको अध्यक्षतामा भोली मंगलबार चैत्र नवरात्रको अष्टमी तिथिमा हुन गइरहेको माताको निशान सहितको डोलिलाई अपरान्ह ४ बजे नगर परिक्रमा गराइने छ ।
सो डोलि यात्रा सुरु हुनु अघि दिनको २ बजे देखी २ घन्टा डोलाको पुजाआजा गरि ४ बजे देखि यात्रा सुरु गरी ६ बजे भित्र मन्दिर परिसरमा पुगि समापन गर्ने कार्यक्रम रहेकोेले भोली सम्पूर्ण भक्तजनलाई बढी मात्रामा सहभागी भएर यात्रा सफल गरिदिन अध्यक्ष शाहले आग्रह गरेका छन् ।
डोलि यात्रा मन्दिरबाट सुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर , अलखिया मठ, महाबिर मन्दिर, घन्टाघर हुँदै श्रीगहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने महासचिव बिजय कुमार उपाध्यायले बताए ।
माताको यस यात्रामा चन्दा नउठाइकन ईच्छुक दाता र भक्तजनको सहयोगमा पहिलो निशान सहितको डोलि यात्रा हुन गइरहेको छ ।
डोलि निर्माण तथा यात्रा कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ । करिब १० दिन लगाएर तयार गरिएको डोलिको लागत मात्रै डेढ लाख रुपैया रहेको समितीका अध्यक्ष शाहले पर्सा अनलाइनलाई बताए ।
दिल्लीबाट विशेष कारीगर बोलाएर माताको पहिलो निशान सहितको डोलिको तयारी गराइएको माईस्थान सञ्चालक समितिले जनाएको छ । साभार : पर्सा अन्लाईन