पाठ्यपुस्तक र पोशाक खरिदमा एकाधिकार गर्ने विद्यालय तथा पसलमाथि कारबाही हुने

वीरगञ्ज, वैशाख २८ — पर्सा जिल्लाका केही निजी विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई निश्चित पसलबाट मात्रै पाठ्यपुस्तक र विद्यालय पोशाक (युनिफर्म) खरिद गर्न बाध्य बनाएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कडा चेतावनी दिएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनविपरीत विद्यालय प्रशासन र व्यवसायीबीचको मिलेमतोमा अभिभावकमाथि आर्थिक शोषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सूचनामा विद्यालयहरूले निश्चित पसल तोकी त्यहीँबाट मात्र किताब र पोशाक खरिद गर्न दबाब दिने, उपभोक्ताले पाउनुपर्ने छुटसमेत नदिने तथा अनावश्यक आर्थिक लाभ लिने कार्य भइरहेको उल्लेख गरिएको छ।

प्रशासनले यस्तो सिन्डिकेट, एकाधिकार र आर्थिक शोषणजन्य गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ। अन्यथा प्रचलित ऐन तथा कानुनअनुसार विद्यालय र सम्बन्धित पसल दुवैमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

त्यस्तै, यस्ता गतिविधिलाई बढावा दिएको प्रमाण, बिल वा अन्य कागजात भए जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन प्रशासनले अभिभावक तथा सरोकारवालासँग आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा हस्ताक्षरित सूचनामा उपभोक्ताको अधिकार संरक्षण र विद्यालय क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box