दिपक चौरसिया
वीरगञ्ज, वैशाख २८ — नेपाल सरकारको निर्णयअनुसार देशभरका सरकारी कार्यालयहरूमा सञ्चालन गरिएको “सरसफाई सप्ताह” कार्यक्रमअन्तर्गत वीरगञ्जस्थित नारायणी अस्पताल मा पनि विशेष सरसफाई अभियान सुरु गरिएको छ।
केन्द्र सरकारको सर्कुलरअनुसार अस्पताल परिसर, विभिन्न वार्ड, कार्यालय तथा सेवा प्रवाह क्षेत्रहरूमा व्यापक सरसफाई गरिएको अस्पताल प्रशासनले जनाएको छ। साथै आगामी दिनहरूमा पनि दैनिक रूपमा सरसफाई अभियान सञ्चालन गरिने र अस्पतालका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहने बताइएको छ।
अस्पताल परिसरमा आयोजित सरसफाई कार्यक्रममा चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागिता रहेको थियो। अस्पताल प्रशासनले स्वच्छ र सफा अस्पताल निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रञ्जन शाहले अस्पताललाई सफा, स्वच्छ र व्यवस्थित राख्नु सबैको साझा दायित्व भएको बताए। उनले विशेषगरी बिरामीका कुरुवाहरूलाई अस्पताल परिसरमा जथाभावी फोहोर नफाल्न आग्रह गर्दै पान, गुट्खा तथा अन्य सुर्तीजन्य पदार्थ सेवन गरेर अस्पतालमा नआउन अनुरोध गरे।
डा. शाहले अस्पतालका विभिन्न स्थानमा डस्टबिनको व्यवस्था गरिएको जानकारी दिँदै खाना खाइसकेपछि तथा अन्य फोहोर अनिवार्य रूपमा डस्टबिनमै फाल्न आग्रह गरे। उनले अस्पतालको वातावरण दूषित बनाउने तथा सरसफाईमा अटेर गर्ने व्यक्तिमाथि आवश्यक परे कडा कारबाहीसमेत गरिने चेतावनी दिए।
उनले भने, “स्वच्छ अस्पताल भए बिरामी पनि स्वस्थ हुन्छन्। अस्पतालको सफाइले उपचार प्रक्रियामा समेत सकारात्मक प्रभाव पार्छ। त्यसैले अस्पताललाई सफा राख्न सबैले जिम्मेवार बन्नुपर्छ।”
सरसफाई सप्ताहअन्तर्गत अस्पतालमा नियमित रूपमा सरसफाई, फोहोर व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ।




