पर्सा ५ चैत । पर्साकाे ठाेरी गाउँपालिका – ४ मालीबस्तीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु भएकाे छ । बाघकाे आक्रमणबाट ठाेरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला साेमबार साँझ ५ बजेतिर जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे मृत्युु भएकाे हाे ।
आक्रमण गर्ने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन् । मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेकाे प्रहरी निरीक्षक राईले जानकारी दिए । एक महिनाभित्रै पर्सामा बाघकाे आक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दुई पुगेकाे छ । यसअघि पटेर्वा सुगाैली गाँउपालिकामा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएकाे थियाे ।
पर्साकाे ठाेरी,पटेर्वासुगाैली र सखुवा प्रसाैनी गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे छ । आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीकाे मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टाेलीले सखुवा प्रसाैनी गाँउपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियाे । पाेथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टाेली असफल भएकाे थियाे ।