वीरगंज २८ फाल्गुन । आफूले बोल्दै नबोलेको विषयलाई संचारमाध्यमले काल्पनीक समाचार प्रकाशित गरको भन्दै पूर्व वडा सचिव भिखारी यादवले आपत्ति जनाएका छन् । तत्कालिन वीरगंज उपमहानगरपालिका वडा नं. ३ का वडा सचिव समेत रहेका यादवले आफूले कहिल्यै पनि नभनेको विषयलाई संचारमाध्यमले कल्पना गरेर समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका हुन् ।
सोमबार बिहान उनले आफ्नै निवासमा पुगेका संचारकर्मीमाझ आफूले भन्दै नभनेको विषयलाई बनावटी कुरा गरेर डिमाण्डका आधारमा जथाभावी लेखेको बताएका हुन् । आफूलाई कसैले कुनै पनि अफर नगरेको र कसैले कुनै प्रकारको धाकधम्की समेत नदिएको भन्दै उनले सिधा कुरा भन्ने संचारमाध्यमले आफूलाई प्रयोग गर्ने चलखेल गरेको स्पष्ट पारेका हुन् ।
आइतबार सिधाकुरा नामको संचार माध्यमले ‘‘वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर’’ भन्ने शीर्षकमा प्रकासित समाचारलाई लिएर उनले आपत्ति जनाएका हुन् । जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार र जसपाको नगर अध्यक्ष ईश्वर यादवले आफूलाई पैसाको प्रलोभन दिएको भन्दै तत्कालिन पञ्जिकरण अधिकारी समेत रहेका भिखारी राय यादवको नाम कोट गरेर संचारमाध्यमले समाचार प्रकाशित गरेको थियो ।
आफूहरुले तत्कालिन पञ्जिकरण अधिकारी समेत रहेका यादवलाई कुनै पनि प्रलोभन तथा धम्कि नदिएको भन्दै चारै जनाले आरोप खण्डन गर्दै पञ्जिकरण अधिकारीकै घरमा सोमबार प्रहरीसहित पुगेका थिए ।
उक्त क्रममा तत्कालिन पञ्जिकाधिकारी रहेका यादवले आफूलाई कसैले पनि प्रलोभन नदिएको र धम्की पनि नदिएको भन्दै सिधा कुरा भन्ने संचारमाध्यमले बनावटी र कपोकल्पित रुपमा आफ्नो नाम दुरुपयोग गरेर समाचार प्रकाशित गरेको बताएका हुन् ।
उनले भन्दै नभनेको विषयलाई मनगढन्ते रुपमा प्रकाशित गरेर आफूलाई अनावश्यक विवादमा ल्याउने उक्त संचारमाध्यममाथि मानहानीको मुद्धा दायर गर्ने पनि उनले बताए ।