बारा १५ फाल्गुन:बाराकाे निजगढ-७स्थित ग्यारेजमा साेमबार भएकाे विष्फोटबाट मृत्यु हुनेको संख्या तीन पुगेकाे छ।विष्फोटमा परि गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका -९ का २० वर्षीय रितु रजतको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।
रजतको बयोधा अस्पतालमा उपचार भइरहेको थियाे । उक्त घटनामा परि यसअघि ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत गुवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको थियो ।
घटनामा अन्य तीन जना घाइते छन् । घाइतेमध्ये भारत रामगढवाका २० वर्षीय अरविन साहको अवस्था गम्भीर छ । साहको बयोधा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी घटनामा वीरगन्ज ९ का फिरोद देवान र निजगढ ५ का सूर्यबहादुर थापा सामान्य घाइते छन् ।
निजगढ- ७ स्थित रोहित वर्कशपमा विष्फोट भएको उक्त शंकास्पद वस्तुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले के विष्फोट भएको हो भन्ने खुलाएको छैन । यसअघि सिलिण्डर पड्किएको भनेर सूचना प्रवाह गरेको प्रहरीले आफ्नो सूचना सच्याउँदै शंकास्पद वस्तु विष्फोट भएको जनाएको छ ।
विष्फोट भएको स्थलमा फलामको टुक्रा भेटिएका छन् । उक्त टुक्रालाई प्रहरीले ल्याब परिक्षणका लागि पठाउने तयारी गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले विष्फोट भएको उक्त वस्तु अहिले शंकास्पद रहेको र ल्याब परिक्षणपछि मात्रै भन्न सकिने बताए ।
प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि दुईजनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि भारत मोतिहारीका रमेश जैसवाल र निजगढ ९ का २९ वर्षीय टिकाराम पाख्रीनलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार पाख्रीनले उक्त वस्तु कवाडीको कारोबार गर्ने जयसवाललाई बेचेका थिए । जयसवालले उक्त वस्तु काट्नका लागि भन्दै ग्यारेजमा लगेका थिए । फलाम जस्तो देखिने उक्त वस्तुभित्र तामा रहेको भन्दै ग्यारेजका संचालकलाई एक सय रुपैया दिएर लेथ मेसिनबाट काट्न लगाएको प्रहरी उपरीक्षक काफ्ले बताएका छन् ।
‘पहिला ५० रुपैया दिएको रहेछ । ग्यारेज संचालकले काट्न नमानेपछि एक सय रुपैया दिएर काट्न लगाएको पाइयो’ प्रहरी उपरीक्षक काफ्ले भने ‘लेथ मेसिनबाट काट्ने क्रममा अचानक विष्फोट भएको देखियो ।’
निजगढ नगरपालिका ९ मा बसेर कवाडीको कारोबार गर्दै आएका जयसवालले उक्त वस्तु केही दिन घरमै राखेको समेत खुलेको छ । गुडाउन मिल्ने उक्त वस्तु कवाडी सञ्चालकका सन्तानले समेत खेलाउने गरेका थिए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार केही दिन कवाडीको कारोबार गर्ने व्यक्तिको घरमा साना बालबालिकाले खेलाएको र पछि तामा झिक्नका लागि भन्दै जयसवालले ग्यारेजमा लगेका हुन् । घटनापछि फरार भएका उनलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक काफ्लेले अज्ञानताको कारण उक्त घटना हुन पुगेको बताए । ‘उक्त वस्तु घरमै राखेको र बच्चाले खेलाएको पनि बुझियो’ काफ्लेले भने ‘केही दिन पछि ग्यारेजमा लगेर काट्न लगाइयो । ग्यारेज सञ्चालकले पनि उक्त वस्तु के हो भनेर अनुमान लगाउन सकेनन् ।’
प्रहरी उपरीक्षक काफ्लेले उक्त वस्तु के हो र कसरी आइपुग्यो भन्नेमा अनुसन्धान जारी रहेको बताए । साभार:अन्नपूर्ण पाेष्टबाट