वीरगंज ११ फाल्गुन । वीरगंज पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादबले सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट पीडित बनेका वीरगंजका नागरिकको बचत तत्काल फिर्ता गराइदिने व्यवस्था गर्न माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै जनता समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद यादबले वीरगंजवासीको १ अर्ब ३५ करोडभन्दा बढी रकम लिएर फरार भएको सानोपाइलाका संचालकलाई तत्काल पक्राउ गरि बचत फिर्ता गरिदिने व्यवस्था मिलाउन माग गरेका हुन् ।
दैनिक ज्यालादारि गरेर जीवन निर्वाह गर्ने वीरगंज वासीका पैसा कुम्ल्याएर सानोपाइलाका संचालक जिवी राई लगायतका व्यक्तिहरु फरार रहेकाले तत्काल उनीहरुलाई पक्राउ गरि उनीहरुको चलअचल सम्पत्ती बाट बचतकर्ताको बचत फिर्ता गरिदिन उनले माग गरे ।
सानोपाइलाका संचालक जिवी राइले मनोमानी सहकारीका शेयर सदस्य नै नरहेका र वीरगंजभन्दा बाहिरका आफ्ना नातेदार तथा कर्मचारीको नाममा ९४ करोडभन्दा बढी रकम कपाली तमसुककै भरमा ऋण प्रवाह गरेर बचतकर्ताको बचत हिनामिना गरेको बताए ।
‘वीरगंजका नागरिकले खाइनखाई जम्मा गरेको ९४ करोड रुपैयाँ ७५ जना आफन्त र कर्मचारीको नाममा कुनै धरौटी नै नराखी कपाली तमसुककै भरमा बाँडेको देखियो,’ सांसद यादबले भने, कसैलाई ७५ लाख दिएको छ, कसैलाई १ करोड, २ करोड हुँदै कतिलाई ६ करोडसम्म तमसुककै भरमा वितरण गरेको देखियो ।’ जथाभावी बचतकर्ताको रकम हिनामिना गर्दासमेत नेपाल सरकार, सिआइबीले किन ध्यान दिएन, किन कारबाही गरेन ? उनले प्रश्न गरे ।
वीरगंजवासीको बचत हिनामिना गरेको भन्दै कारबाहीको माग गर्दै वीरगंज महानगरपालिकाले सिआइबीलाई पत्रै लेखेर पठाउँदा पनि त्यसका संचालक तथा सहयोगिहरुलाई अझैसम्म छानविन गरेर कारबाही नगरेको भन्दै तत्कालै छानविनको दायरामा ल्याउन माग गरे ।