बिरगंज १० बैशाख । अस्पतालको सबैभन्दा संवेदनशील र जीवनरक्षासँग प्रत्यक्ष जोडिएको क्षेत्र सघन उपचार कक्ष (आइसियू) मा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने गरेको छ। गम्भीर अवस्थामा रहेका बिरामीहरूको उपचार हुने यस कक्षमा प्रत्येक सेकेन्ड महत्वपूर्ण हुने भएकाले नर्सहरूलाई उच्च सतर्कता, दक्षता र छिटो निर्णय क्षमताको आवश्यकता पर्ने चिकित्सकहरू बताउँछन्।
आइसियूमा कार्यरत नर्सहरूले २४ घण्टा बिरामीको निरन्तर निगरानी गर्दै रक्तचाप, मुटुको धड्कन, सासप्रश्वास, अक्सिजन स्याचुरेसन, शरीरको तापक्रम तथा स्नायविक प्रतिक्रिया जस्ता महत्वपूर्ण सूचकहरूको सूक्ष्म अवलोकन गर्छन्। यीमध्ये कुनै सूचकमा सामान्य परिवर्तन भए पनि त्यसले गम्भीर अवस्था निम्त्याउन सक्ने भएकाले नर्सहरूले तत्काल चिकित्सकलाई जानकारी गराई उपचार प्रक्रिया अगाडि बढाउने जिम्मेवारी निर्वाह गर्छन् भन्दै नारायणी अस्पतालका नर्सका प्रमुख श्रुति साहले बताए ।
साहले भनिन आधुनिक उपकरणहरूको सञ्चालनमा पनि नर्सहरूको दक्षता निर्णायक हुन्छ। कार्डियाक मोनिटर, भेन्टिलेटर, इन्फ्युजन पम्प, सिरिन्ज पम्प तथा डिफिब्रिलेटर जस्ता उपकरणहरूको सही प्रयोग र निगरानीमार्फत बिरामीको जीवनरक्षा सुनिश्चित गरिन्छ। यसका लागि नर्सहरूले निरन्तर तालिममार्फत आफ्नो प्राविधिक सीप अद्यावधिक गरिरहनुपर्ने हुन्छ । औषधि व्यवस्थापन आइसियू नर्सिङको अर्को महत्वपूर्ण पाटो हो।
सही समयमा सही मात्रामा औषधि दिनु, त्यसको प्रभाव तथा सम्भावित असरहरूको निगरानी गर्नु र कुनै जटिलता देखिएमा तत्काल चिकित्सकलाई जानकारी गराउनु नर्सहरूको प्रमुख जिम्मेवारीभित्र पर्छ।
शारीरिक उपचारसँगै मानसिक र भावनात्मक सहयोग पनि उत्तिकै आवश्यक मानिन्छ।
गम्भीर अवस्थाका बिरामीहरू डर, तनाव र अनिश्चिततामा रहने भएकाले नर्सहरूले सहानुभूतिपूर्ण व्यवहारमार्फत उनीहरूलाई आत्मबल प्रदान गर्छन्। कतिपय अवस्थामा बिरामी बोल्न नसक्ने भए पनि नर्सको उपस्थितिले सुरक्षा र भरोसाको अनुभूति दिलाउने साहले बताउछिन् ।
बिरामीका आफन्तहरूसँग प्रभावकारी संवाद राख्नु पनि नर्सहरूको महत्वपूर्ण दायित्व हो। बिरामीको अवस्था, उपचारको प्रक्रिया र सम्भावित जोखिमबारे स्पष्ट जानकारी दिँदा आफन्तहरूमा विश्वास बढ्नुका साथै मानसिक सान्त्वना मिल्ने गर्दछ।
यसैगरी, संक्रमण नियन्त्रण आइसियूमा अत्यन्त संवेदनशील विषय हो। हात धुने विधि, व्यक्तिगत सुरक्षात्मक उपकरणको प्रयोग, उपकरणहरूको सरसफाइ र वातावरणीय स्वच्छतामा कडाइका साथ ध्यान दिइन्छ। सानो लापरबाहीले पनि बिरामीको अवस्था जटिल बनाउन सक्ने भएकाले यस क्षेत्रमा उच्च सतर्कता अपनाइन्छ।
आइसियू सेवा पूर्ण रूपमा टोलीगत कार्यमा आधारित हुने भएकाले चिकित्सक, नर्स, ल्याब प्राविधिक तथा अन्य स्वास्थ्यकर्मीबीच समन्वय र सहकार्य अपरिहार्य मानिन्छ। प्रभावकारी सञ्चार र समयमै निर्णयले उपचारलाई छिटो र सुरक्षित बनाउने विश्वास गरिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार आइसियूमा कार्यरत नर्सहरू मानसिक रूपमा बलियो, धैर्यवान् र पेशाप्रति समर्पित हुनुपर्छ। तनावपूर्ण वातावरणमा पनि निरन्तर सेवामा खटिने उनीहरूको भूमिका स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा लिइन्छ।




