वीरगञ्ज १० बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अवैध घुसपैठ नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ। कार्यालयले सार्वजनिक अपिल जारी गर्दै सीमाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको गतिविधिमाथि कडाइका साथ निगरानी गरिने जनाएको छ।
कार्यालयका अनुसार धार्मिक, सामाजिक तथा आर्थिक गतिविधिको आवरणमा तेस्रो मुलुकका नागरिकहरू सीमाबाट अवैध रूपमा प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मिति २०८३/०१/१० गतेदेखि सीमावर्ती नाकाहरूमा विशेष निगरानी बढाइएको जनाइएको छ।
अपिलमा सीमाबाट प्रवेश गर्ने विदेशी नागरिकहरूले अनिवार्य रूपमा आफ्नो यात्रा कागजात (पासपोर्ट/भिसा) साथमा राख्नुपर्ने तथा सम्बन्धित निकायलाई आवश्यक विवरण उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। साथै, अध्यागमन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सीमाक्षेत्रमा चेकजाँचलाई थप कडाइ गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण, होटल व्यवसायी तथा सीमावर्ती क्षेत्रका बासिन्दालाई विशेष सहयोग गर्न आग्रह गरेको छ। अपिलमा भनिएको छ भने आफ्नो गाउँ–टोल वा व्यवसायमा कुनै अपरिचित विदेशी नागरिक शंकास्पद रूपमा बसोबास गरेको वा गतिविधि गरेको देखिएमा तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने।
सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई विदेशी नागरिकको विवरण संकलनमा आवश्यक सहयोग पुर्याउनुपर्ने। अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिएमा ढुक्क भएर प्रशासनलाई सूचना दिनुपर्ने।
कार्यालयले यस अभियानलाई राष्ट्रिय सुरक्षा सुदृढीकरण तथा सुशासन कायम गर्ने उद्देश्यसँग जोडिएको बताउँदै सबै सरोकारवालाबाट रचनात्मक सहयोगको अपेक्षा गरेको छ । अवैध गतिविधि नियन्त्रण गरी सुरक्षित वातावरण निर्माण गर्न नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको पनि प्रशासनले जनाएको छ।




