बारा, १२ बैशाख / फेटा गाउँपालिका वडा नम्बर १ अन्तर्गत रजवटिया टोलमा आजदेखि “रजवटिया प्रीमियर लिग” सुरु भएको छ । एक कार्यक्रमका बीच युवा नेता उमेश दुबेले फिता काटेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दुबेले खेलकुदले युवाहरूलाई अनुशासित, सक्रिय र सकारात्मक मार्गतर्फ अग्रसर गराउने बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आयोजक टिमलाई धन्यवाद दिएका थिए। साथै, उनले आगामी दिनमा पनि खेलकुद तथा युवा विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा वडा सदस्य लोहा यादव, समाजसेवी मोहन दास, हिरालाल दास तथा शेसनाथ यादव लगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले खेलकुदमार्फत समाजमा एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरेका थिए ।
प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ । केही दिनसम्म सञ्चालन हुने उक्त लिगले स्थानीय युवाहरूमा उत्साह थप्नुका साथै खेलकुदप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।




