वीरगंज ११ बैशाख । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका बस्ने एक १२ वर्षिय नाबालिकलाई अपहरण तथा जबर्जस्ती करणीको घटनामा पर्सा प्रहरीले पिडितलाई झनै पिडा दिएको पिडित परिवारले आरोप लगाएका छन् ।
जबर्जस्ती करणीको शिकार भएकी बालिकाका बुवाले शुक्रवार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी आफुहरुलाई प्रहरीले जबजस्ती बयान फेर्न दबाव दिएको र एउटा कागजमा जबर्जस्ती सही गराएको आरोप लगाए । उनले गत चैत्र १७ गतेका दिन मेरो छोरी परीक्षा दिन स्कूल गएकीमा परीक्षा सकेपछि उनी घर नआएपछि हामीले खोजी सुरु गरेका थियौं ।
सोही क्रममा राती अ. २१ः०० बजेको समयमा स्थानिय एक व्यक्तिले घरमा छोरीलाई पु¥याए । छोरी सँग कहाँ गएको भनि सोधपुछ गर्दा “सखुवाप्रसौनी गाउँपालिका निवासी रुपेश प्रसाद यादव र लड्डु प्रसाद यादवले मोटरसाईकलमा बसाई लगेको र जबर्जस्ती करणी गरी मलाई त्यही छोडी भागेको” बताएको पिडितका बुवाले पत्रकार सम्मेलनमा बताए ।
सो पश्चात आफुले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिंदा नारायणी अस्पतालबाट घाँ–जाँच गराई रिपोर्ट आएपछि प्रहरीले चैत १९ गते मुद्दा दर्ता ग¥यो । जसको दर्ता नं. ९८६ रहेको बताए । मुद्दा दर्ता भए पनि प्रहरीले पिडकहरुलाई पक्राउ गर्न चासो नदेखाएको पिडितका बुवाले गुनासो गरे ।
मुद्दा दर्ता भएको जानकारी पाए पश्चात पिडकहरुको घरपरिवारले मेरो घरमा आई धाक धम्की दिएको समेत गुनासो गरे । सोही क्रममा प्रहरी कार्यालयबाट अचानक फोन आयो “छोरीलाई लिएर जिल्ला प्रहरी कार्यालयमा आउनु” त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्सामा आउँदा छोरीलाई एक जना महिलाले डर धाक देखाउदै जबर्जस्ती करणी नभएको भनि एउटा कागजमा सही गराए । म पनि अनपढ व्यक्ति मलाई पनि एउटा कागजमा सही गराईयो । कागजमा के लेखिएको छ ? म आफ्नो मान्छे बोलाएर पढन लगाए पछि मात्र सही गर्छु भन्दा पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकले जबर्जस्ती सही गराएको आरोप लगाए ।
पिडित छोरीलाई प्रहरीले बोलाई बयानको नाममा रातभरी प्रहरी कार्यालयमा राख्नुले पनि प्रहरी पिडकहरु सँग मिलेको आरोप लगाए ।
सो क्रममा एसपी पाठकले “छोरी बेचुवा” जस्ता अपशब्द प्रयोग गरेको कारण प्रहरी पनि पिडकहरु सँग मिलेर मलाई थप पिडा दिईरहेको उनको आरोप छ । सो पत्रकार सम्मेलनमा पिडितका बुवाले सञ्चारकर्मीहरु सँग न्याय दिलाउनमा सहयोग गर्न आग्रह गरेका थिए ।
सो बारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक सँग कार्यालयमै केही पत्रकारहरु पुगी प्रतिक्रिया लिन खोज्दा उनले घटनाबारे थप अनुसन्धान भईरहेकोले यस बारे केही बोल्न नमिल्ने बताएका थिए ।




