वीरगंज २३ माघ।वीरगंज महानगरपालिका वडा नं. २० का वडाअध्यक्षको मिलेमतोमा नदी नियन्त्रणका लागि कमसल काम गराएर भुक्तानी लिएको पाइएको छ ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्सा मार्फत संचालित कार्यक्रम योजनामा तोकिएको स्थान नै वडाअध्यक्ष राम किसोर सिंह परागले परिवर्तन गरेर कमसल काम गरि भुक्तानी लिएको भेटिएको हो ।
प्रदेश सरकारबाट स्विकृत बेलवा कुहडी भेडहा नदी नियन्त्रण कार्यक्रमलाई हरपतगंजमा लगेर कमसल काम गरि पैसा झ्वाम पारेका हुन् ।
वेलवा कुहडी वडा नं. २७ पर्ने भए पनि वडा नम्वर २० का वडाअध्यक्ष परागले सिंचाई डिभिजन कार्यालयलाई मिलाएर १५ लाख रुपैयाँ झ्वाम पारेको वेलवाका स्थानीयले आरोप लगाएका छन् ।
स्रोतको अनुसार उपभोक्ता समितिले भुक्तानी नै माग नगरि वडा अध्यक्ष र डिभिजन कार्यालयका प्रमुखको मिलेमतोमा पहिले नै पैसा निकासा गरिएको र पछि मात्रै कागजातहरु मिलान गरिएको हो । कार्यालयले काम सकिएको भनेर माघ २ गते नै भुक्तानी गरिसकेको भए पनि अहिले आएर कागजपत्र मिलान गर्न दौडादौड गरेको पाइएको छ । रंजन कुमार साह तेलीको अध्यक्षतामा वडा नं. २० कै वडा अध्यक्ष परागको रोहबरमा उपभोक्ता समिति गठन भएको थियो ।
जाली ढुङ्गले तटबन्ध गरिएको सो स्थानको निरिक्षण गर्दा काम कमसल गरिएको एवं सो ठाउँमा तटवन्धको कुनै तुक समेत नरहेको स्रोतको दावी छ । सिंचाई डिभिजन कार्यालयका प्रमुख श्यामकिशोर साफीले उपभोक्ता समिति गठनमा त्रुटी भएको स्वीकारेका छन् ।
बेलवा कुहडीमा नदी नियन्त्रणको काम हुनु पर्नेमा कार्यालयका कर्मचारी र वडाअध्यक्ष परागको मिलोमतोमा गुपचुप गरी अर्कै ठाउँमा कार्य गरेको थाह पाएपछि बेलवाका स्थानीयहरुले सिंचाई कार्यालयमा गएर विरोध समेत गरेका थिए । ठूलो आर्थिक चलखेल गरेर योजनाको स्थान परिवर्तन गरेको स्थानीयको आरोप छ । साहुहरुको खेत जग्गा बचाउन जरुरी नै नरहेको स्थानमा वडा नं. २० का वडाअध्यक्षले कुहडीमा लगाउनु पर्ने तटबन्ध हरपतगंजमा लगेको पनि बताएका छन् । उनीहरुले स्थान परिवर्तन गरि भएको कमसल कामको छानविन हुनुपर्ने माग राखेका छन् ।
महानगरपालिकाको वडा नं. २७ का वडाअध्यक्ष हृदयनारायण कुर्मीले वेलवा कुहडी भन्ने स्थान २७ नं.मा रहेको र वडा नं. २० मा नपर्ने बताए ।