वीरगञ्जमा मदरसा अनुगमन कडा : दर्ताविहीन संस्थालाई चेतावनी

वीरगञ्ज १० बैशाख — पर्सा प्रहरीले वीरगञ्ज महानगर क्षेत्रमा सञ्चालित मदरसाहरूमा अनुगमन तथा चेकजाँचलाई कडाइ गरेको छ । सुरक्षा संवेदनशीलता र शैक्षिक संस्थाहरूको कानुनी अवस्थालाई व्यवस्थित गर्ने उद्देश्यसहित सुरु गरिएको अनुगमन अभियान अन्तर्गत पहिलो चरणमा छपकैया क्षेत्रका चार वटा मदरसामा निरीक्षण गरिएको हो।

Advertisement

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती मदरसाहरूको स्थलगत अनुगमन गर्दै सञ्चालन अवस्था, दर्ता प्रक्रिया, विद्यार्थी विवरण र प्रशासनिक संरचनाबारे जानकारी संकलन गरेको थियो।

अनुगमनका क्रममा एउटा मदरसा हालसम्म सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको पाइएको प्रहरीले जनाएको छ। उक्त मदरसालाई तत्काल प्रचलित कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। उनले कानुनी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका कुनै पनि शैक्षिक संस्थालाई आवश्यक प्रक्रिया पुरा गर्न बाध्य बनाइने स्पष्ट पारे।

प्रहरीका अनुसार विगतमा भएका केही संवेदनशील गतिविधिहरूलाई मध्यनजर गर्दै यस्तो अनुगमनलाई प्राथमिकता दिइएको हो। “शिक्षा दिने संस्थाहरू पारदर्शी र कानुनी दायराभित्र सञ्चालन हुन आवश्यक छ,” प्रहरी स्रोतले जनाएको छ।

पर्सा प्रहरी र बिर्ता वडा प्रहरी कार्यालयको संयुक्त टोलीले आगामी दिनहरूमा पनि वीरगञ्जका अन्य मदरसाहरूमा नियमित अनुगमन तथा चेकजाँचलाई तीव्रता दिने जनाएको छ। यस कदमले शैक्षिक संस्थाहरूलाई व्यवस्थित बनाउनुका साथै सुरक्षाको दृष्टिले समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले पनि अनुगमनलाई स्वागत गर्दै सबै शैक्षिक संस्थाहरू कानुनी दायराभित्र सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। प्रहरीले भने समुदायसँग सहकार्य गर्दै शान्ति–सुरक्षा कायम राख्ने अभियानलाई अझ सशक्त बनाउने बताएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box