वीरगंज ४ माघ । भारत उत्तर प्रदेश मा माघ ८ गते अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राणप्रतिष्ठा हुँदैछ । त्यही दिन वीरगंजमा पनि रामजानकी मन्दिरमा प्राणप्रतिष्ठाको तयारी गरिएको छ । मन्दिर पुनर्निर्माण भइरहेको छ ।
वीरगंज–१० स्थित रामजानकी मन्दिर सात दशक भन्दा बढी समय एकाध व्यक्तिले कब्जा गरेका थिए । मन्दिरलाई महानगरपालिका मातहत ल्याउने काम भएपछि माघ ८ गतेकै मिति पारेर प्राणप्रतिष्ठाको तयारी भएको हो । नवनिर्मित रामजानकी मन्दिर वीरगंजमा हिन्दू धर्ममा आस्था राख्नेको मात्र नभएर सबैको साझा धरोहर बनाउने काममा महानगरको नेतृत्वमा आएका नगर प्रमुख राजेशमान सिंहले अगुवाई गरे । धार्मिक संस्थाका नाममा निश्चित स्वार्थसमूहले गरिरहेको ‘दोहन’ अन्त्य गर्ने काम चानचुने थिएन । अदालत देखाएर, शक्तिकेन्द्र भजाएर, हिन्दूधर्मका आडमा संरक्षित गुण्डागर्दीको बलमा भइरहेको लुट र धर्मका नाममा व्यक्ति मोटाउने क्रम अन्त्य गर्ने काममा महानगर प्रमुखले गरेको अगुवाई केही झुण्डका लागि चित्त बुझेको थिएन । सात दशक मन्दिरको कमाइ खाने समूहलाई थप कारबाही नगर्दा अर्को समूह पनि भित्रभित्रै चिढिइरहेको थियो भने मन्दिरको ससानो प्रसाद भागवण्डा पाइरहेकाहरु पनि अदृश्य र सहज आम्दानी रोकिँदा रुष्ट नै थिए ।
महानगरको करोडौँ जग्गाजमीन निजी आम्दानी बाँध्ने समुदाय पनि नगर प्रमुख सिंहको ‘एक्सन’सँग प्रभावित नहुने कुरै भएन । उसै पनि कुनै न कुनै सम्प्रदायले गरेको बदमासी नजरअन्दाज गर्नु भन्दा सबै धर्मावलम्बीको भावनाअनुसार एक्सन लिँदा स्थानीय सरकारमातहतका सम्पत्तिमा रजाइँ गरिरहेकालाई महानगर प्रमुख सिंह चुनाव जितेको एक वर्ष नपुग्दै ‘टाउको दुःखाई’ बनेको विषय लुकेको थिएन ।
अर्कातिर नागरिक समाजका व्यक्तिहरुले मेयरको प्रशंसा गर्नुपर्दा ‘कि त उनै बिमल श्रीवास्तव, नत्र यिनै राजेशमान’ भनेर सार्वजनिक अभिव्यक्ति दिन थाले । युवा पुस्ता मात्र होइनन्, विद्यालय पढ्ने उमेरका किशोरकिशोरी पनि महानगर प्रमुखको कामबाट प्रभावित भए । यिनै कक्षा ९, १०, ११ र १२ पढ्ने नयाँ पुस्ता नै देशमा रहे २०८४ का मतदाता हुन् । यिनको कलिलो मष्तिष्कमा पनि महानगर प्रमुख नै बास बस्न थालेपछि वीरगंजलाई दोहोन गरेर ‘समाजसेवा’ का आडमा तर मार्नेहरु एकठ्ठा भएको आभास महानगर प्रमुखले वैशाखतिर, एक वर्ष नपुग्दै गरेकै थिए ।
राजनीतिमा भनाइ छ, ‘ठूलो दुश्मनसँग लड्न साना दुश्मनसँग सहकार्य गर्नुपर्छ ।’ ठ्याक्कै वीरगंजका सबै स्वार्थ समूहको निशानामा महानगर प्रमुख राजेशमान सिंह परेका छन् । तर महानगर प्रमुख सिंह भने माघ ८ गते हुने राम जानकी मन्दिरको प्राणप्रतिष्ठाको सफल कार्यान्वयनमा केन्द्रित भएका छन् । ‘यसपछि मुख खोलौँला,’ महानगर प्रमुख स्रोतले भन्यो, ‘जो व्यक्तिगत कुरा कोट्याएर स्वार्थको रोटी सेक्न लागिरहेका छन्, यसले सिंगो वीरगंजको हानी हुने भए चिन्ता हुन्थ्यो, केही स्वार्थ बोकेकाहरुलाई समस्या परेको होला, यस्ता विषयमा बोलिरहनु व्यर्थ छ ।’ महानगर प्रमुख सिंहका केही व्यक्तिगत विषय उचालेर वीरगंजमा जग्गा, मन्दिर, सहकारीसँगै सम्प्रदायका नाममा लुट गरिरहेकाहरु एकत्रित भएको पाइएको छ । तिनको मक्सद छ, ‘विवाद अरु सतहमा ल्याउँ र सकिन्छ भने माघ ८ गतेको प्राणप्रतिष्ठा पनि रोकौँ ।’ जुन वीरगंजका लागि सबैभन्दा भन्दा पश्चगमन र दुर्भाग्य हुनेमा शंका छैन । यस्तो सोच्नु पनि अपराध हो । तर यहाँ हाकाहाकी केही हूल बाँधेर ‘देखाइदिन्छौँ’ भन्दै वीरगंजको बदनामी बेच्न देशदौडाहा गरिरहेका छन् ।
- उसो त चुनाव जितेलगत्तै वीरगंजको सौन्दर्यीकरणमा महानगर प्रमुखले निकै राम्रो काम गरे । महानगर सफा बनाए । गहवामाइ मन्दिर, पोखरीहरु व्यवस्थापन गरे । हरेक सम्बोधनमा ‘वैभव वीरगंज’को नारा दिएर सिंहले कैयौँ राम्रा काम गर्दा वीरगंजका चार–पाँच जनाको समूह विरोधमै उत्रिइरहेको थियो । प्रमुखमा सिंह विजयी भएदेखि नै ‘असफल’ पार्नु पर्छ भनेर उनीहरुले योजना बनाएका थिए । अहिले त्यही समूह नै महानगर प्रमुखको नाममा वीरगंजमा अराजकता मच्चाउन उदत त थिए भने यतिले चित्त नबुझेर काठमाडौँसमेत पुगेर विभिन्न सञ्चारगृह चाहार्दै प्रोपोगान्डा गरिरहेको लुकेको छैन । जो यस काममा लागेका छन्, वीरगंजबासीहरु उनीहरुको विगतसँग पनि परिचित मात्र छैनन्, विगतमा उनीहरुले गरेकाे जग्गालगायतका अनेक दाउपेचहरु पनि बिस्तारै उजागर हुँदै जानेछ । साभार ईमधेश दृष्टि.कम