रौतहट, १३ बैशाख । गौर–चपुर सडक खण्ड अन्तर्गत निर्माणाधीन कल्भर्टमा खसेर एक युवकको दुःखद मृत्यु भएको छ।
भारतको बिहार राज्य, सीतामढी जिल्ला बैरगनिया प्रखण्ड वडा नं. १ सेनुरिया टोल निवासी प्रदीप महतोका २० वर्षीय छोरा विशाल महतोको शनिबार राति करिब ११ बजेतिर घटनास्थलमै मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार, मृतक विशाल महतो आफ्नै विवाह (२०८३ बैशाख २५ गते) को निम्तो कार्ड वितरण गर्ने क्रममा रौतहटको गरुडा नगरपालिका–१ जयनगर टोलस्थित आफन्तको घरतर्फ जाँदै थिए। सोही क्रममा गौर नगरपालिका–६ सबगढा स्थित असलम आयल स्टोरदेखि उत्तरतर्फ रहेको निर्माणाधीन सडक खण्डमा रहेको कल्भर्टमा मोटरसाइकलसहित खसेपछि उनको ज्यान गएको हो।
स्थानीयवासी तथा मृतकका आफन्तका अनुसार उक्त सडक खण्डको निर्माण जिम्मा पाएको आश्रय निर्माण सेवाले निर्माणस्थलमा न्यूनतम सुरक्षा मापदण्ड समेत पालना नगरेको आरोप लगाइएको छ। घटनास्थलमा कुनै चेतावनी बोर्ड, संकेत चिन्ह, रातिको लागि रिफ्लेक्टर वा बत्ती, सुरक्षा घेरा वा अन्य सावधानीका उपायहरू नराखिएको कारण दुर्घटना भएको स्थानीयहरूको दाबी छ।
गौर–चन्द्रनिगाहपुर सडक स्तरोन्नति तथा चार लेन विस्तार योजना अन्तर्गत करिब ४४.१४ किलोमिटर क्षेत्रमा निर्माण कार्य भइरहेको भए पनि निर्माणस्थलमा आवश्यक ट्राफिक व्यवस्थापन र सुरक्षा संयन्त्रको अभाव देखिएको छ। नियमअनुसार निर्माण कम्पनीले स्पष्ट संकेत चिन्ह, डाइभर्सन, जोखिमयुक्त स्थानमा बार वा डोरी घेरा, तथा रातिको समयमा दृश्यता सुनिश्चित गर्ने उपायहरू अनिवार्य रूपमा अपनाउनुपर्ने हुन्छ। तर उक्त क्षेत्रमा यी प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको पाइएको छ।
यस घटनापछि आक्रोशित स्थानीयवासीहरूले उच्चस्तरीय छानबिनको माग गर्दै निर्माण कम्पनीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरिएको छ।
स्थानीयका अनुसार, जथाभावी खाल्डाखुल्डी खन्ने, निर्माण सामग्री अस्तव्यस्त रूपमा छोड्ने तथा पूर्वसूचना बिना जोखिमपूर्ण संरचना बनाउने कार्यका कारण यसअघि पनि पटक–पटक दुर्घटना हुँदै आएको थियो। तर सम्बन्धित निकायको बेवास्ता र कमजोर अनुगमनका कारण समस्या समाधान हुन नसक्दा अन्ततः यस्तो दुःखद घटना दोहोरिएको उनीहरूको भनाइ छ।
यो घटनाले सडक निर्माणमा हुने लापरबाही, कमजोर नियमन र जिम्मेवार निकायको उदासीनतामाथि गम्भीर प्रश्न उठाएको छ। समयमै सुधारात्मक कदम नचालिए आगामी दिनमा अझ ठूला मानवीय क्षति हुन सक्ने भन्दै स्थानीयवासीहरूले सम्बन्धित पक्षलाई सचेत गराएका छन्।




