वीरगन्ज २७ । बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना घाईते भएका छन् । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद भएको हो ।
विवाद बढ्दै गएपछि झडप भएको र झडप नियन्त्रणका क्रममा १० जना प्रहरी घाईते भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारी घाईते भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेपछि १० जना प्रहरी घाईते भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको हो ।
गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । घाईते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि तलब भत्ता माग गर्दै शिक्षक र कर्मचारी आन्दोलनमा छन् ।