वीरगञ्जका निवासी जलानको ६० रुपैयाँ तलब कमाउने कामदार देखि सफल उद्योगी बन्नेसम्मको यथार्थ

वीरगञ्ज । गरीबी र पारिवारिक दायित्वको बोझ बोकेर १२ वर्षको कलिलो उमेरमै वीरगञ्जको एउटा व्यापारिक फर्ममा झाडु लगाउने काम गर्न पुगेका मुर्ली जलान अहिले आफै २५ जनालाई रोजगारी दिने अवस्थामा पुगेका छन् भन्दा पत्यार नलाग्न सक्छ । पत्याउनु पनि कसरी ? उनलाई नै यो वास्तविकता सपनाजस्तो लाग्छ ।

Advertisement

यो अपत्यारितो वास्तविकता यसै सम्भव भएको होइन । कामप्रतिको निरन्तर लगाव र नयाँ कुरा सिक्ने भोकले उनलाई यो सफलतासम्म पुर्‍याएको हो । ‘त्यतिबेला वीरगञ्जको मेनरोडमा बजरंग स्टोर नामको फर्ममा प्रतिमहीना ६० रुपैयाँमा काम गर्न पुगेको थिएँ,’ अहिले ५० वर्षमा हिँड्दै गरेका मुर्ली सम्झिन्छन्, ‘त्यहाँ उनको काम हुन्थ्यो । १५/१६ वर्षसम्म त्यही फर्ममा बसें । फर्म सञ्चालकले धनगढीमा लुगा सिलाउने धागो उद्योग खोलेपछि त्यहाँ पनि कामदारकै रूपमा गएँ । त्यहाँ उद्योगको व्यवस्थापन सिक्ने मौका मिल्यो ।’

उनले धागो उद्योग चलाउनुपछाडिको संयोग पनि उस्तै छ । पश्चिम नेपालको धनगढीमा साझेदारीमा खुलेको त्यो उद्यम सोचेजस्तो जम्न सकेन । साझेदारी पनि टिकेन । धागो उद्योग बन्द भएपछि वीरगञ्ज फर्किएका मुर्लीलाई नै सहयोगी कर्मचारी राखेर सञ्चालकले पुन: अर्को धागो उद्योग खोले । तर, माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा रहेका बेला चन्दा आतंक खेप्न नसकेर मुर्लीका साहूजी आफ्नो परिवारसहित भारत पलायन भए । मुर्ली कहाँ जाने/के गर्ने चिन्तामा डुब्न थाले ।

संयोग नै भन्नुपर्छ मुर्लीलाई त्यो धागो उद्योग र केही पैसा ‘आशीर्वाद’का रूपमा छोडेर उनका साहू भारततर्फ लागे । त्यही उद्योगलाई २०६० सालमा ‘एस थ्रेड’को नाममा दर्ता गरेर अहिले वार्षिक ७/८ करोडको कारोबार गरिरहेका मुर्लीले यो उद्योगमा ५ करोड रुपैयाँ लगानी पुर्‍याइसकेका छन् । धागो उद्योगमा कामदारको रूपमा व्यवस्थापनको प्रारम्भिक ज्ञान बटुलेका मुर्लीले अनुभवले खारिँदै २० वर्षदेखि वीरगञ्जमा धागो उद्योग नै चलाइरहेका छन् । उनी इलास्टिक बनाउने अर्को एक उद्योगमा पनि सक्रिय साझेदारको रूपमा छन् ।

कम छैनन् समस्या

कोरोना महामारीयता खस्किएको बजारबाट धागो उद्योग पनि जोगिएको छैन । वार्षिक ३५/४० करोड रुपैयाँको घागो बजार विगत वर्षहरूको तुलनामा अहिले ४० प्रतिशतले घटेको अनुभव उनको छ । ‘खर्च भने बढेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज दोब्बर पुगेको छ । उद्योग चलाउनु कठिन काम बन्दै गइरहेको छ,’ मुर्ली समस्या सुनाउँछन् । बजारमा छाएको मन्दीकै कारण उनले काठमाडौंमा नयाँ धागो उद्योग सञ्चालनको योजनासमेत अहिलेलाई स्थगित गरेका छन् । उद्योगका लागि पाँचओटा उपकरण भित्रिइसकेका छन् । बजार खस्किएपछि तत्कालका लागि स्थगित गर्नुपरेको मुर्ली बताउँछन् ।

नीतिगत संरक्षणको अपेक्षा

सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने खालको नीति लिनुपर्नेमा त्यसको अनुभूति नपाएको गुनासो औसत उद्योगी जस्तै उनको पनि छ ।

‘स्वदेशमा आयात हुने तयारी धागो कच्चा पदार्थको सहुलियतमा भित्रिइरहेको छ । यसले स्वदेशका उद्योगलाई प्रतिस्पर्धामा अत्यन्तै गाह्रो भइरहेको छ,’ उनले भने । उद्योगका लागि सहुलियत दिनु राम्रै भए पनि व्यापारिक प्रयोजनका लागि भित्रिने धागोसमेत कच्चा पदार्थ भनेर भित्रिइरहेको दाबी उनले गरे ।

राजनीतिप्रति आकर्षण 

पछिल्लो समयमा राजनीतिप्रति आकर्षित भएका मुर्ली राजनीतिलाई फोहोरी खेलमात्र ठान्न नहुनेमा स्पष्ट छन् । राजनीतिलाई सफा बनाउन राजनीतिमै संलग्न हुनुपर्ने मान्यता राख्ने उनी निजीक्षेत्रले राजनीतिमा राम्रो गर्न सक्नेमा विश्वस्त पनि देखिन्छन् ।  साभार :आर्थिक अभियान ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box