एमाले स्थायी कमिटी बैठक बस्दै, सर्वोच्चको फैसला र पार्टि भित्रको समस्यामा बैठक केन्द्रित हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ। बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

Advertisement

उनका अनुसार प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए।

सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ। एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।

‘दोस्रो एजेन्डा पार्टीको विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्तावको कार्यान्वयन हो,’ ज्ञवालीले भने,‘१० बुँदे सहमति प्रस्तावलाई क्रमश: कार्यान्वयन गर्दै लैजानेबारे आजको बैठकमा छलफल हुन्छ।’ ज्ञवालीले नेपाल पक्षको आग्रहमा यसअघि नै बैठक स्थगित भइसकेकाले आजको बैठक नरोकिने बताए।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार नै छलफल र परामर्श गरेर सहमतिमा बैठक राख्नु उपयुक्त हुने बताएका थिए। आफूहरूको असहमतिकै बीच बैठक राखे त्यसले पार्टी एकता प्रक्रियालाई सहयोग नगर्ने उनीहरूको भनाइ छ। नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आजको बैठकमा सहभागी हुने/नहुनेबारे छलफल गर्न बाँकी रहेको बताए। स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ। सर्वोच्चको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमालेका बैठकहरू बस्न लागेका हुन्।  

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box