जकाठमाडौं : कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार खुकुरी प्रहार भयो। भृकुटिमण्डपस्थित रिपोर्ट्स क्लबमा आफ्नो मन्तव्य दिएर बाहिर निस्किएका उनीमाथि खुकुरी प्रहार भएको थियो। नुवाकोटका श्यामबाबु सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका थिए। लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
खुकुरी प्रहार गर्नुअघि सापकोटा कार्यक्रममै सहभागी भई भाषण सुनेका थिए। उनले एमसीसीको विरोध गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए।
यादवले के भनेका थिए?
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिनियाँ राजदूत सोङमाथि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्ने बताए।
उनले चिनियाँ राजदूतको अभिव्यक्तिले नेपालीहरूको अपमान भएको बताए। ‘चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत छ। नेपाल सार्वभौमसत्ता मुलुक हो। हामी कोसँग दोस्ती गर्छौं, कोसँग व्यापार गर्छौं, नितान्त हाम्रो कुरा हो। हाम्रो अरु देशसँगको सम्बन्ध बिगार्ने अधिकार उहाँलाई छैन। यो हाम्रो सार्वभौकितामाथिको प्रहार हो। यो अभिव्यक्तिले नेपालीलाई अपमानित गरेको छ,’ उनले भने।
छिमेकी मुलुक भारत र नेपालका नागरिकहरूबीच राजदूत सोङले भ्रम सिर्जना गरेको उनको भनाइ छ। ‘चीनसँग हाम्रो मित्रवत व्यवहार छ। चिनियाँ राजदूत पनि यहाँ सम्बन्ध सुमुधर बनाउनु आउनुभएको हो,’ उनले थपे, ‘भारतसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। खुला सीमाना छ। दुई देशबीचका नागरिकबीच सद्भाव छ। तर चिनियाँ राजदूतले भ्रम सिर्जना गर्ने काम गरेका छन्। परराष्ट्र मन्त्रालयले यो मामिलामा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिनुपर्छ।’
उनले भारतबाट आयात गरिएको बिजुली नै लोडसेडिङका बेला काम आएको बताए। ‘दस अर्बको बिजुली बेच्यौं, १७ अर्बको किन्यौं। यो आफ्नो ठाउँमा छ। तर लोडसेडिङका बेला यिनै छिमेकीले हामीलाई सहयोग गरेको हो नि,’ उनले भने।
उनले चिनियाँ राजदूत नेपालको हेडमास्टर नरहेको बताए। ‘चिनियाँ राजदूत हेडमास्टर होइन। हामीलाई पढाउने, सिकाउने होइन। कोसँग के गर्ने हामीलाई थाहा छ। चिनियाँ राजदूतको हेडमास्टरी गर्ने काम नहोस्,’ उनले भने
कांग्रेस नेता यादवले चीनले केरुङ-काठमाडौं रेल अल्झाएर राखेको बताए। ‘हामीले केरुङ-काठमाडौं रेल बनाइदेऊ भनेकै छौं। खै बनाइदिएको? पोखरा विमानस्थलमा दुई गुणा बढी ऋणमा बनाइदिएका छन्। खै त त्यहाँ विजनेश? नेपालले कसरी तिर्छ तेत्रो ऋण?,’ उनले प्रश्न गरे। उनले चीनले हालै जारी गरेको नक्साप्रति पनि आपत्ति जनाए। नेपालको चुच्चे नक्सा नसमेटिएको भन्दै उनले तत्काल नक्सा सच्याउन माग गरे। ‘संसदबाट पारित भएको नेपालको चुच्चेसहितको नक्सा चीनले किन राखेन? अविलम्ब यो सच्याइयोस्,’ उनले भने।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए। उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाइएको छ। दोष केही पनि छैन। जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ। सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन्। भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भइरहेको छैन।’
उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे। उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जोहरी छैन। कसैले पनि पैसा लिएको भनेर भनेको छैन। प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन। खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन।’(साभार अन्नपूर्ण पोस्ट)