यसरी गालिँदैछ ‘ब्रेक सु’ बाट छुट्याएको सुन

काठमाडौं : विमानस्थलबाट बरामद भएको सुन आज गालिँदैछ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने काम भइरहेको छ।

Advertisement

यसअघि सोमबार ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ ।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर सिनामंगलबाट साउन २ गते बरामद गरिएको थियो। सो सुनको वास्तविक परिमाण पत्ता लगाउन आज गलाउने काम भइरहेको हो।

टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार उक्त सुन भनिएको धातु सिलबन्दी प्रतिपोकोमा १९ किलो ५ सय ४१ ग्राम रहेको छ। अझ सिलबन्दी पोकामा ‘ ब्रेक सु, र कार्टुनबाहेक प्रतिपोकामा करिब ७ किलो ६ सय ८० ग्राम सुन देखिएको छ।

उक्त  ८ पोकाको कुल ६० किलो ७ सय ८९ ग्राम बराबरको सुन भएको छ। यसमा कालोपदार्थ लगायतका वस्तुसमेत भएकाले वास्तविक सुन कति भनेर निश्चित गर्न प्रक्रियामा लैजाने उनले जनाए। ‘यी सबैलाई  छुट्ट्याइसकेपछि सुन भनिएको वस्तुलाई गलाउने प्रक्रियामा लगिनेछ,’ निर्देशक आचार्य भन्छन्, ‘गलाउनुभन्दा अगाडि यसलाई केमिकलमा धुनुपर्ने वा पोल्नुपर्ने पनि हुनसक्छ। त्यसपछि साँचोमा राखिन्छ। यसपछि यसको नमुना परीक्षण गरिन्छ।

त्यसपछि मात्रै सुनको वास्तविक परिमाण आउनेछ।

विमानस्थलबाट चेकजाँच भइ बाहिरिएको क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। पछि सो सुन जोख्नका लागि टक्सार महाशाखामा लगिएको थियो।

सुन प्रकरणको अनुसन्धान सुरूमा राजस्व अनुसन्धान विभागले गरेपनि पछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको हो।

सुन तस्करी प्रकरणमा हालसम्म १६ जना बढी व्यक्ति पक्राउ परिसकेका छन्।

 

 

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box