वीरगञ्ज । नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ठूलो परिमाणको ‘ब्रेक शु’ भित्रको सुन निकाल्न सुरु गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्र लेखेसँगै सोमबार दिउँसो महाशाखाका कर्मचारीले ब्रेक शुबाट सुन निकाल्न थालेका हुन् । उक्त सुन निकालेर आजैबाट गाल्ने प्रक्रिया अघि बढेमा आधिकारिक रूपमा सुनको तौल आउन कम्तीमा एक हप्तासम्मको समय लाग्न सक्ने महाशाखाले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको छ ।
अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन् । यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।