वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाको पक्षमा उच्च अदालतले आदेश दिएसँगै भूमाफियाले जीपी फाउण्डेसनको नाममा कब्जा गरेको जग्गा खाली भएको छ ।
अदालतको आदेशसँगै महानगरले जग्गा आफ्नो नाममा ल्याउन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएर धनी पुर्जा बनाउने प्रकृयामा गएको जानकारी पाएपछि भूमाफियाले जग्गा खाली गरेका हुन् ।
महानगरको डोजर चल्दा क्षति बढी हुने बुझेर त्यसभन्दा अगाडी नै खाली गर्नु उचित ठान्दै भूमाफियाहरुले आफै खाली गराएको बुझिएको छ ।
वीरगञ्जको वडा नम्वर १० आदर्शनगरस्थित करोडौं मुल्य पर्ने जग्गा नेपाली कांग्रेसका क्षेत्रीय सभापति (तत्कालिन नगरसभापति) महम्मद शाहबुद्धिनले राजनीतिक पहुँचको आधारमा श्रीमती नजमा खातुनको नाममा किर्ते कागजात जुटाएर २०७४ मा खरिद गरेको कागज खडा गरेका थिए ।
पशुपति आदर्शनगर निर्माण समितिबाट महानगरको स्वामित्वमा आएको कित्ता नम्बर ८१७ को १ कठ्ठा जग्गा वीरगञ्ज ३ निवासी साहबुद्धिनको श्रीमती नजमाले किर्ते कागजात खडा गरी मालपोत र महानगरपालिकाका यस अघिका जनप्रतिनिधिदेखि कर्मचारीसमेतको मिलोमतोमा आफ्नो नाममा पु¥याएको भन्दै वीरगञ्ज महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भूषालले ३ असार २०७५ मा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्धामा पर्सा जिल्ला अदालतले १२ बैशाख २०७८ मा जग्गा महानगरकै स्वामित्वमा रहने फैसला गरेको थियो ।
त्यसपछि नजमाले पर्सा जिल्ला अदालतको फैसलालाई बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दिएकी थिइन् । तर १३ बैशाख २०८० मा उच्च अदालतका न्यायधिशद्वय सुदर्शनदेव भट्ट र सिताराम मण्डलको संयुक्त इजलासले पनि जिल्ला अदालत पर्साद्वारा २०७८ वैशाख १२ गते गरिएको फैसलालाई नै सदर गरिदिएको थियो ।
उच्च अदालतले फैसलाको पूर्ण पाठका साथै किर्ते कागजात खडा गरि व्यक्तिको नाममा पुगेको जग्गा महानगरकै नाममा गरिदिन भन्दै गएको साता मात्रै अदालतले पत्र मालपोतको नाममा पत्र पठाएसँगै धनी पूर्जा बनाउने प्रकृया सुरु भएको थियो ।
महानगरले धनी पूर्जा बनाउन लागेको जानकारी पाएसँगै साहबुद्धिनले आजै जग्गा खाली गरेका हुन् ।