काठमाडौँ — माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको ९ किलो सुन भित्र्याउने तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा सरकार तथा खासगरी गृह प्रशासन र अनुसन्धानकारी निकायमाथि नै अविश्वास पैदा भएको छ । महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।
अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ ।
राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । यो सञ्जालसँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरा अनुसन्धानको दायरामा अझै आएका छैनन् । त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएका थिए । तर उनीहरूमाथि अनुसन्धान भने भएको छैन ।
महराकै पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन् । तर, उनीहरू पार्टी र सरकारका अनुसन्धानकारी निकायबाट थप छानबिन गराउन अनदेखा गरिरहेका छन् । ‘महरामाथि कुनै अनुसन्धान अघि नबढ्दा आम जनमानस र प्रमुख प्रतिपक्ष दलमा यो सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको छैन भन्ने शंकालाई पुष्टि गरिरहेको छ,’ एक मन्त्री भन्छन्, ‘निष्पक्ष रूपमा काम गरिरहेको भनेर आम समुदायलाई विश्वासमा लिनका लागि भए पनि छानबिन हुनैपर्ने देखिन्छ ।’
8 छुटाउन महरा बाबु–छोरा परिचालन गरेको पोल खुलेको थियो । तर, सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि दुबईबाट आएको तेस्रो दिन ली पुस १३ मा विदेश भागिसकेका थिए । अर्का एक चिनियाँ गत वैशाख १५ मा विदेश भागेको अनुसन्धानबाट खुलेको छ । तस्करीको सुन व्यवस्थापन जिम्मा पाएका गिरोहका अर्का सदस्य चिनियाँ नागरिक, सुन व्यवस्थापनमा काठमाडौंमै रहेका अरू तीन चिनियाँ र उनीहरूका सहयोगीसमेत अहिले फरार छन् । फरार रहेका दाओजिन वाङसँग
आफ्नो पुरानै चिनजान र सम्पर्क रहेको पूर्वसभामुख महराले स्वीकार गरेका छन् । सुन तस्करीमा यसलाई जोडेर नहेर्न उनले आग्रह गरेका छन् । तर, उनको दाबीविपरीत तस्करीको नेटवर्कसँग महरा, उनका छोरा राहुल र गिरोहका अरू सदस्यबीच भन्सारले भेप नियन्त्रणमा लिएपछि सामान छुटाउन पटक–पटक कुराकानी भएको देखिन्छ ।
सुन ल्याउने चिनियाँ गिरोहका लीले पूर्वसभामुख महरालाई फोन गरेको देखिन्छ । अर्का सुन तस्कर दाओजिन वाङसँग पनि उनको पटक–पटक कुरा भएको अनुसन्धानले देखाएको छ । त्यसपछि लीको लोकेन्द्र पौडेल र श्याम शाहसँग सम्पर्क हुन्छ । यो बीच वाङले पौडेल, शाह, असिन र महराका छोरा राहुलसँग सम्पर्क गर्छन् । राहुलको आसिन र पौडेलसँग पनि पटक–पटक सम्पर्क भएको देखिन्छ । यो नेटवर्कमा रहेकामध्ये लीको महरा, वाङ, पौडेल, शाह, असिन र खुवाप्रसाद न्यौपानेसँग सम्पर्क देखिन्छ । लीले वाङसँग फेरि कुरा गरेपछि नेपालमा भएका गिरोहसँग अर्को नेटवर्कमा कुरा हुन्छ । प्रहरी अनुसन्धानमा उनीहरूको सम्पर्क सुन बेचबिखनमा रहेको समूह (पक्राउ परी मुद्दा दायर भइसकेको) का रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदी लगायतसँग भएको देखिन्छ ।
तर, यो प्रकरणमा भेप चोरी गरेर सुन बेच्ने गिरोहमाथि मात्रै मुद्दा चलेको छ । भेपको आवरणमा भएको सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित गिरोहका सदस्यहरू दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगले, निर्मलकुमार विक, दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापाविरुद्ध मात्रै संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । प्रहरी स्रोतले सुन ल्याउने गिरोहमाथि अनुसन्धान जारी रहेको र त्यसको कनेक्सनमा भएका व्यक्ति निगरानीमै रहेको बताएको छ । ‘यसअघि भेपको सुन चोरेर बिक्री गर्नेमाथि मुद्दा दायर भएको हो । अहिले सुन ल्याउने व्यक्ति र तिनको नेटवर्कमा रहेकामाथि अनुसन्धान जारी छ,’ अनुसन्धान स्रोतले भन्यो ।
प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानको काम अझै भइरहेको बताए । ‘पक्राउ परेका आरोपितको हकमा अनुसन्धानको समयसीमाका कारण तोकिएको समयभित्र प्रतिवेदन बुझाउने र अभियोजन गर्नुपर्ने बाध्यता हुन्छ, नौ केजीको हकमा पनि त्यही भएको हो,’ उनले भने, ‘बाँकी अनुसन्धान निरन्तर चलिरहेको छ । तथ्य र प्रमाणले भेटेसम्म संलग्नलाई कारबाहीको दायरामा ल्याइन्छ ।’ उनले पछिल्लो समय भेप, ब्रेक सुलगायतको आवरणमा सुन लुकाएर ल्याउने गिरोह र यसअघिका सुन प्रकरणसँग पनि कनेक्सन देखिन सक्ने भएर त्यतातिर पनि नजर लगाएर अनुसन्धान जारी रहेको उनले बताए । (संभार कान्तिपुर )