बिरगंज ५ जेठ । चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले काठमाडौं केन्द्रित आन्दोलनको शुरुवात गरेका छन् ।
बिरगंजको सिरसिया नदीलाई प्रदुषण, अपहरणमुक्त गराउन र भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत बिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित आन्दोलनको शुरुवात गरेका हुन् ।
अभियानीहरुले बिहीबार सिरसिया नदीको प्रदुषित पानी बोकेर वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा आरम्भ गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा र विशेष सहयोग सरोज राय यादव , हरी श्रेष्ठ लगाएत दर्जनौं अभियानीहरु पैदल यात्रामा सहभागी भएका छन् ।
संयोजक यादवले वीरगञ्जबाट सुरु गरेको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिरसिया नदीको प्रदुषित पानी पोख्ने र सरकारले त्यसले पनि नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने जानकारी दिए ।
अभियानीहरुले यसअघि बैशाख १४ देखि २८ गतेसम्म विरोधका विभिन्न कार्यक्रमहरु गरेपनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगर्दा बिहीबारदेखि उनीहरु काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
सार्वजनिक जग्गा उद्योगपतिहरुले उद्योगको नाममा अतिक्रमण गरेको चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आरोप लगाए । उनले सिरसिया नदीलाई प्रदुषण गर्नुको साथै स्वास्थ्यसँग खेलवाड गर्ने काम उद्योगहरुले गरिरहेकाले यो अभियानको शुरुवात गरिएको बताए ।