काठमाडौं ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेदेखि वैशाख २० बाट रायमाझि फरार थिए ।
प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।
यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।
तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।