पर्सा २७ वैशाख । मुकेश चौरसियाको हत्याकान्ड को तीन वर्ष हुन थालेको तर पनि न्याय पाउन सकेको छैन । तत्कालीन नेकपाका पर्सा जिल्ला विन्ध्यवासिनी गाउँपालिकाको एकाइ सचिव मुकेश चौरसियाको हत्यारालाई पर्सा प्रहरीले जोगाउन खोजेको भन्दै भाइ महेश चौरसियाले अब अनशन गर्ने चेतावनी दिएका छन् ।
चौरसियाले कानूनी लडाइँ लडेको तर पर्सा प्रहरीले नै तथ्य प्रमाण भएपनि त्यसलाई लुकाएर अभियुक्तहरूलाई बचाउने प्रयासमा लागेको कारण सपरिवार अनशन बस्ने प्रतीकलाई बताए । तत्कालीन नेकपाको भेला भइरहेको प्रसौनीभाठामा नेकपाभित्रकै दुई गुट हाबी हुँदा कुटाकुट भएको थियो र सो कुटाकुटमा फाटा लागेर मुकेश चौरसियाको मृत्यु भएको थियो ।
यो घटनामा चौरसियाका भाइ महेश चौरसियाले प्रहरीमा १२ जनाविरूद्ध किटानी दिएका थिए । २०७७ कात्तिक ७ गतेको यो घटनामा १२ जनाविरूद्ध कात्तिक ९ गते मुद्दा दर्ता भएको थियो । हाल पर्सा क्षेत्र नं ३ का सांसद राजकुमार गुप्तासमेत १२ जनाविरूद्धको जाहेरीमा जिल्ला न्यायाधिवक्ताको कार्यालय, पर्साका तत्कालीन जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्कीले प्रहरीले कल डिटेल पेश नगरेको भनेर सांसद गुप्ता, लक्ष्मण चौरसिया र हनिफ मियाँलाई मुद्दा नचल्ने भनी निर्णय गरेका थिए ।
उक्त निर्णयविरूद्ध महेश चौरसिया उच्च अदालत, सर्वोच्च अदालतमा पनि पुगेका र त्यहाँबाट गुप्तालगायत तीनजनाविरूद्ध मुद्दा नचल्ने भनी सफाइ दिएको बताइन्छ । यो मुद्दामा पछिल्लोपटक गत पुस ११ गते तत्कालीन महान्यायाधिवक्ता खुमबहादुर खातीले पूरक जाहेरी दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाउन जिल्ला न्यायाधिवक्ताको कार्यालय, पर्साको नाममा आदेश गरेका थिए ।
जिल्ला न्यायाधिवक्ताको कार्यालय, पर्साले महान्यायाधिवक्ताको आदेश अनुसार गुप्तालगायत थप तीनजनामाथि अनुसन्धान गरी कारबाई प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्राचार गरेको थियो । तर पर्सा प्रहरीले सांसद गुप्तालगायत तीनजनाविरूद्ध कुनै प्रमाण फेला नपरेको भनेर हालै जिल्ला न्यायाधिवक्ताको कार्यालय, पर्सामा फाइल पठाएको छ ।
स्व चौरसियाका भाइ महेश चौरसियाले सांसद गुप्ताविरूद्ध हत्यामा संलग्न पर्याप्त प्रमाणहरू रहेका तर प्रहरीले सो प्रमाण अदालतमा पेश नगरी अभियुक्तहरूलाई जोगाउने प्रपञ्च रचेको आरोप लगाएका छन् । चौरसिया हत्याकाण्डमा सांसद गुप्ताको नाम १२ जनामध्ये सबैभन्दा अगाडि थियो । उनले दाइको हत्याको योजना रचेको कुरा स्वयम् दाइले घटनाको एक दिनअघि कवलकिशोर चौरसियालाई फोनमार्फत जानकारी गराएको र सो फोन वार्तामा सांसद राजकुमार गुप्ता तथा सञ्जय चौहानले भोलिको कार्यक्रममा आफ्नो हत्या योजना बनाएको कुरा बताएको कल डिटेल रहेको, घटना भएको दिनको प्रहरीले निकालेको कल डिटेलमा सांसद गुप्ताले घटनाका आरोपितहरू हनिफ मियाँ, लक्ष्मण चौरसिया, देवा सहनी, धीरज चौरसियालगायतसँग बारम्बार फोन सम्पर्क गरेको, गुप्तासहित निजको घरबाट घटनाका अन्य आरोपीहरू देवा सहनी र हनिफ मियाँ पक्राउ परेको तत्कालिन प्रहरी उपरीक्षक गङ्गा पन्तले दिएको अभिव्यक्ति र प्रहरी तथा पर्सा जिल्ला अदालतमा हनिफ र देवाले दिएको बयानमा आफूहरू सांसद गुप्ताको घरबाट पक्राउ परेको बताएका थिए ।
जिल्ला न्यायाधिवक्ताले सांसद गुप्तालगायत तीनजनालाई मुद्दा नचलाउनु भन्ने भनाइ दुराशयपूर्ण भएको र अहिले पर्सा प्रहरीले महान्यायाधिवक्ताको पत्रपछि पनि प्रमाण नभेटिएको भनेर उन्मुक्ति दिने प्रयास शङ्कास्पद भएको आरोप लगाएका छन् । उनले घटना भएको कात्तिक ७ गतेपछि दुई दिनमा प्रहरीले कल डिटेल निकालेको र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पठाएको प्रमाण हुँदाहुँदै जिल्ला न्यायाधिवक्ताले कात्तिक १६ गते सांसद गुप्तालगायत तीनजनालाई उन्मुक्ति दिनु नै षड्यन्त्रको बीजारोपण गरिएको र अहिले सो कार्यलाई पर्सा प्रहरीले अभियुक्तहरूविरूद्ध प्रमाण नभएको भनी जोगाउने प्रयास मिलिभगत, आर्थिक प्रभावमा भएको चौरसियाले आरोप लगाएका छन् । यो घटनामा अहिले उत्तम तिवारी र अखिलेश चौरसिया पुर्पक्षका लागि वीरगंज कारागारमा छन् भने छजना धरौटीमा रिहा भएका छन् । एकजना शङ्करपुकार तिवासी (चिन्टु) फरार छन् ।
घटनाबारे सांसद गुप्ताले तीन तहको अदालतले आफूलाई सफाइ दिइसकेको र तत्कालीन राष्ट्रपतिले राजीनामा स्वीकृत गरेको दिन तत्कालीन महान्यायाधिवक्ताले आफूविरूद्ध निर्णय गरेर राजनीतिक प्रतिशोध साँधेको आरोप यसअघि लगाएका थिए ।
हत्या भएका स्व मुकेश चौरसियाका भाइ महेश चौरसियाले कानूनी लडाइँमा अनेक दाउपेच रचेर मुख्य अभियुक्त, रचनाकारहरूलाई जोगाउने कार्य भइरहेका कारण न्यायका लागि आफू सपरिवार अनशनमा बस्नुको विकल्प नरहेको बताएका छन् । कि त ज्यान लेऊ हैन भने न्याय देऊ भनेर आफू वीरगंजमा सपरिवार अनशन बस्ने उनले बताए । सभार : प्रतीक दैनिक