भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको

काठमाडौँ ८ बैशाख । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार सोमबार आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।

Advertisement

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५– १५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । खाना पकाउने ग्यासको हकमा एक/एक महिनामा मूल्यसूची पठाउँछ । सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो ।

हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा निगमले बिक्री गर्दै आएको छ । ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पर्छ । यसअघि अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको थियो । अघिल्लो पटक बढेर आउँदा पेट्रोल र डिजेलमा मूल्य समायोजन नभएकाले यसपटक घटेर आए पनि मूल्य यथावत राख्ने निगमले जनाएको छ । त्यस्तै, ग्यासको हकमा मूल्य घटेर आए पनि प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानीमै रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए ।

‘ग्यासमा मूल्य घटेर आउँदा केही राहत भएपनि अझै प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानमै छौं । अन्तर्राष्ट्रिय बजार हेर्दा ग्यासमा केही घट्ने सम्भावना देखिएको छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘अब ग्यासमा पनि छिटै स्वचालित प्रणाली लागू गर्छौं ।’ अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रममा रहेकाले छिट्टै नोक्सान घट्ने निगमको अनुमान छ । अहिले प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानी रहेकाले ग्यासमा स्वचालित लागू गर्दा उपभोक्ता मूल्य थप बढ्न सक्ने उनले बताए ।

निगमले २०७१ असोजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित प्रणाली लागू गरेको थियो । हवाई इन्धनको मूल्य भने निमग नियन्त्रित छ । ग्यासमा निगम घाटामा गएपछि स्वचालित मूल्य लागू गर्न खोजेको हो । ‘स्वचालित मूल्य पूर्ण रुपमा कार्यान्वयन नहुँदा आईओसीलाई ६ अर्ब र नेपाल सरकारलाई साढे ६ अर्ब तिर्न बाँकी नै छ । निगमलाई नाफा चाहिएको छैन, ब्रेक इभनमा पुग्ने बित्तिकै सबैमा पूर्ण स्वचालित लागू गर्छाैं,’ थानीले भने ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box